सुधा देव
भारदह(सप्तरी), माघ ३ गते । सोसल लाइफ सेन्टर नेपालले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ६ की एक मुस्लिम समुदायका विपन्न महिलालाई सुविधा सम्पन्न भवन शनिबार हस्तान्तरण गरेको छ ।
स्थानीय एकल महिला जनतिया खातुनलाई कतार च्यारिटीको सहयोगमा सोसल लाइफ सेन्टर नेपालले शौचालय,भान्सा कोठासहित दुई कोठे भवन निर्माण गरेर हस्तानतरण गरेको हो ।
एउटा सानो झुपडीमा बस्दै आउनु भएको उहाँलाई बस्न समस्या हुँदै आएको बेला ११ लाख १ हजार रूपियाँ बराबरको लागतमा खातुनको घर निर्माण गरिएको सहयोगी संस्थाका अध्यक्ष हजरत मन्सुरीले जानकारी दिनु भयो ।
एक कार्यक्रम बिच प्रदेश सांसद एवं पूर्व मन्त्री सकील अली तथा हनुमान नगर कङ्कालीनी नगरपालिकाका मेयर बिरेन्द्र माझीले खातुनलाई घर हस्तान्तरण गर्नु भएको हो ।
यसअघि सोही संस्थाले हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर ४ मधवापुर निवासी एकल महिला मोरनिया खातुनलाई पनि भान्सा घर र शौचालयसहितको दुई कोठे घर निर्माण गरिदिएको छ ।