अमरराज नहर्की
तनहुँ, माघ ३ गते । नेपाल सरकारका कृषि विकास अधिकृत सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ नामक पुस्तकको एक विशेष समारोहबिच शनिबार लोकार्पण गरिएको छ । व्यास नगरपालिका–१, भादगाउँ निवासी लेखक सुनारको उक्त कृतिको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
पुस्तक लोकार्पण गर्दै न्यौपानेले समाज परिवर्तन र व्यक्तिको प्रगतिका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताउनु भयो । उहाँले निजामती तथा क्याम्पस प्राध्यापन सेवामा रहेर पनि साहित्य र चिन्तनको क्षेत्रमा समय निकाल्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विकले सामाजिक रूपान्तरणका लागि यस्ता बौद्धिक खुराकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले पुस्तकले युवा पुस्तालाई प्रेरणा दिने बताउनु भयो ।
पुस्तकको समीक्षा गर्दै आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले पुस्तकको विषयवस्तु र सन्देश उत्कृष्ट रहेको बताउनु भयो । उहाँले सोच बदलेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकले सरल ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नु भयो । यद्यपि, पुस्तकको प्राविधिक पक्षमा केही कमजोरी औंल्याउँदै उहाँले प्रकाशकको नाम, लेखकको चिनारी र प्रकाशन मिति नहुनु जस्ता पक्षमा आगामी संस्करणमा ध्यान दिन सुझाव दिनु भयो ।
अर्का समीक्षक दमौली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक सन्त तामाङले लेखक सुनार आफ्नो विद्यालयको मेधावी विद्यार्थी रहेको स्मरण गर्नु भयो । उहाँले सुनार कक्षा १ देखि १० सम्म अध्ययन गर्दा सधैँ प्रथम हुने गरेको चर्चा गर्दै सफल व्यक्तिको पछाडि चरित्रको ठुलो हात हुने बताउनु भयो । उहाँले केवल पैसाले मात्र सफलता नमिल्ने र नेतृत्व तहमा बस्नेहरूले लोकप्रियताका लागि झुटा आश्वासन दिन नहुनेमा जोड दिनु भयो । विषयवस्तु राम्रो भए तापनि पुस्तकको साजसज्जामा सुधारको खाँचो रहेको उहाँको टिप्पणी थियो ।
लेखकका मामा केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले, शिक्षक नन्दन श्रेष्ठ, पत्रकार पूर्ण विक लगायतले पुस्तकको महत्त्व र लेखकको व्यक्तित्वका बारेमा चर्चा गर्नु भएको थियो । लेखक सुनारले आफ्नो अनुभव र भोगाइलाई समेटेर पाठकमाझ सकारात्मक ऊर्जा भर्ने उद्देश्यले पुस्तक ल्याएको जानकारी दिनु भयो ।