• ३ माघ २०८२, शनिबार

अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा दोलखा प्रहरीको सक्रियता

blog

जिल्ला प्रहरी कार्यालय दोलखा।

सुजन काफ्ले                           

चरीकोट, माघ ३ गते । जिल्ला प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८२-८३ को पुस महिनामा सम्पादन गरेका कार्यहरूको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले दिनु भएको जानकारी अनुसार यस महिनामा प्रहरीले अपराध अनुसन्धान, फैसला कार्यान्वयन र राजस्व सङ्कलनमा उल्लेख्य उपलब्धि हासिल गरेको छ। 

पुस महिनामा जिल्लाभर बैँकिङ कसुर, अभद्र व्यवहार र चोरी लगायतका जम्मा १० वटा मुद्दा दर्ता भइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तिमल्सिनाले बताउनु भयो। सोही अवधिमा विभिन्न मुद्दाका १० जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ भने अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका थप ६ जनालाई पक्राउ गरी १ वर्ष १ महिना कैद भुक्तानका लागि पठाइएको र ४३ हजार रुपियाँ जरिवाना असुल गरिएको उहाँले जानकारी दिनु भयो।

प्रहरीले पुस महिनामा ट्राफिक व्यवस्थापन र राजस्व सङ्कलनमा पनि विशेष सक्रियता देखाएको छ। सूचना अधिकारी तिमल्सिनाका अनुसार सवारी नियम उल्लङ्घन गर्ने ३ सय ४८ वटा सवारी साधनलाई कारबाही गर्दा ३ लाख ४ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको छ। यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्न एउटा स्काभेटरलाई नियन्त्रणमा लिई १ लाख रुपियाँ जरिवाना गरिएको समेत उहाँले बताउनु भयो।

जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन महिनाभर ४३२ पटक ग्रामीण गस्ती, ३१० पटक सवारी चेकिङ र २१७ पटक पिकेट डिउटी परिचालन गरिएको जानकारी दिँदै तिमल्सिनाले प्रहरी नागरिकको सुरक्षाका लागि चौबिसै घण्टा उच्च सतर्कताका साथ खटिएको उल्लेख गर्नु भयो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा पनि प्रहरीले सक्रियतापूर्वक काम गरेको विवरणमा उल्लेख छ। पौष महिनामा प्राप्त १० वटा उजुरीमध्ये ७ वटालाई आपसी छलफल र मेलमिलाप मार्फत टुङ्ग्याइएको सूचना अधिकारी तिमल्सिनाले बताउनु भयो।

साथै, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा ३५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ४ सय ४६ जना नागरिकलाई सचेत गराइएको छ। मेलुङ गाउँपालिका-७ बाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल सहित एक जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइनुलाई प्रहरीले यस महिनाको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। "हामीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने सवालमा शून्य सहनशीलता अपनाएका छौँ, आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लगिने छ," तिमल्सिनाले भन्नु भयो।