जोहनसबर्ग, माघ ३ गते । दक्षिणी अफ्रिकाका देश दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ । धेरै क्षेत्रमा अझै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
सबैभन्दा बढी क्षति मोजाम्बिकमा भएको छ । त्यहाँको विपद व्यवस्थापन निकायका अनुसार गत वर्षको अन्त्यदेखि सुरु भएको असामान्य वर्षायामका कारण १०३ जनाको मृत्यु भएको छ । बाढी, डुबान, पूर्वाधार भत्किनु, चट्याङ लाग्नु र हैजा जस्ता कारणले ज्यान गएको जनाइएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार मोजाम्बिकमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने हजारौं घर क्षतिग्रस्त भएका छन् ।
दक्षिण अफ्रिकामा उत्तरी लिम्पोपो र एम्पुमालांगा प्रान्तमा आएको बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । सेनाले हेलिकप्टरमार्फत छानामा र रूखमा फसेका मानिसको उद्धार गरेको छ । राष्ट्रपति सिरिल रामाफोसाले एक साताभित्र करिब ४०० मिलिमिटर वर्षा भएको र धेरै घर पूर्ण रूपमा बगाएको बताएका छन् ।
प्रसिद्ध क्रुगर राष्ट्रिय निकुञ्जमा पनि बाढीको ठूलो असर परेको छ । त्यहाँका करिब ६०० पर्यटक र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ । नदी उर्लिएपछि पार्कका केही भाग पूर्ण रूपमा सम्पर्कविहीन बनेका छन् । जिम्बाब्वेमा भारी वर्षाका कारण ७० जनाको मृत्यु भएको छ भने १,००० भन्दा बढी घर नष्ट भएका छन् ।
विद्यालय, सडक र पुल जस्ता पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ । यसै गरी मडागास्कर, मलावी र जाम्बियामा पनि बाढीको असर देखिएको छ । विशेषज्ञका अनुसार यो अवस्था ला निन्या मौसम प्रणालीका कारण उत्पन्न भएको हुन सक्छ, जसले दक्षिणपूर्वी अफ्रिकामा अत्यधिक वर्षा गराउने गर्दछ । मोजाम्बिकमा मात्रै ७० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ, जसले खाद्य सुरक्षामा थप संकट सिर्जना गरेको छ । रासस/एपी