राधा लुइटेल
फिदिम, माघ ३ गते । पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा जोकोहीको मन त्यहाँ निर्मित स्टलमा राखिएका खानेकुराले तान्दछ ।
स्थानीयस्तरमै उत्पादन भएका कृषिउपज । ती उपजबाट तयार पारिएका खानेकुराका परिकार तत्काल तयार पारेर खुवाइने गरेकाले ती परिकारले स्वादका पारखीलाई तानेको हो ।
यहाँ यस क्षेत्रमा बाहुल्यता रहेका आदिवासी जनजातिसँगै विभिन्न समुदायमा आधारित रैथाने खानेकुरा प्रवर्धन र प्रदर्शन गरिँदैछ । फिदिम बजारको विपीपार्क क्षेत्रमा झकिझकाउ बनाएर सजाइएका स्टलहरूमा नेवारी, तामाङ, सेपा, गुरुङ, राई, नेवार, मगर, गुरुङ र लिम्बूसहित पाँचथरमा बसोवास गर्ने विभिन्न जाती जनजातिका संस्कृतिमा आधारित रैथाने खानेकुरा राखिएको छ ।
योसँगै कृषियुग सुरु भएयता कृषि कर्ममा प्रयोग गरिएका औजार र जडिबुटीसँगै वन उद्यम सम्वन्धित वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । ‘रैथाने खानाको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटनको सम्वर्धन’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव स्थलमा राखिएका शेर्पा, नेवारी र लिम्बू परिकारको स्वादले आफ्नो ध्यान खिचेको तेह्रथुमको आठराइबाट यहाँ आइपुगेका कुशल क्षेत्रीले बताउनु भयो ।
नेपाल मगर सङ्घको आयोजनामा माघ १ गते सुरु भएको महोत्सव ३ गतेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवलाई थप आकर्षक बनाउन नजिकै विभिन्न किसिमका सांस्कृतिक र साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । जस्ले नाचगान र झाँकी हेर्दै रैथाने स्वाद चाख्दा झन रमाइलो भएको फिदिम –१ की इन्द्रमाया लिम्बूले बताउनु भयो ।