• ३ माघ २०८२, शनिबार

लेबनानी सेनाको क्षमता बलियो बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यकः संयुक्त राष्ट्र

blog

संयुक्त राष्ट्र, न्यूयोर्क, माघ ३ गते । संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले शुक्रबार लेबनानी सेनाले आफ्नो देशको दक्षिणी सिमाना सुरक्षित राख्न आफ्नो क्षमता बलियो बनाउन थप स्रोत र आर्थिक सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो ,“लेबनानी सेनाको सङ्ख्या र उपस्थितिमा वृद्धि भइरहेको छ, जुन सकारात्मक सङ्केतको रूपमा हेरिएको छ । तर लेबनानी अधिकारी र सेनाले दुवैले स्वीकार गरेका छन् कि क्षमता सुदृढ पार्न अझै थप सहयोग आवश्यक रहेको छ ।” सह-सचिवले भन्नुभयो,“लेबनानी पक्षले अस्थायी रूपमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) का केही स्रोत कायम राख्ने इच्छा व्यक्त गरेको छ, जसले सेनाको क्षमता बलियो बनाउन थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।”

उहाँले थप स्पष्ट पार्नुभयो,“लक्ष्य स्पष्ट छ र क्षमता सुदृढ गर्न अझै केही काम बाँकी छ । साथै, लेबनानी प्रहरी र सुरक्षा बलले अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोगको आवश्यकता राख्दै आएको पनि उल्लेख गर्नुभयो ।” लेबनान र इजरायलबिच सम्भावित तनावका विषयमा प्रश्न गर्दा सह-सचिवले  संयुक्त राष्ट्र र युनिफिलले उपलब्ध सबै उपाय प्रयोग गरेर वर्तमान प्रयासलाई सहयोग गर्ने बताउनुभयो, जसले दुबै पक्षबिच तनाव कम गर्न मद्दत पुग्ने आशा गरिएको छ । रासस/सिन्ह्वा