• ३ माघ २०८२, शनिबार

निर्वाचन शान्तिपूर्ण बनाउन दल प्रतिबद्ध

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा सहभागीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, माघ ३ गते ।
आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।

संविधानसभा सदस्य गोविन्द पौडेलले सबै राजनैतिक दलका प्रतिनिधिलाई चुनावी सवाल जवाफको समयमा अनिवार्य रुपमै सहभागी बनाउने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । उम्मेदवारी दर्ताको दिनमा दलहरुका लागि समय सिमा तोकिदिएको खण्डमा सजिलो हुने धारणा राख्नुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले निर्वाचन खर्चिलो हुने गरेको र यसबाट निर्वाचनलाई मुक्त गर्नुपर्ने धारणा राख्नुभएको थियो । दलहरुले निर्वाचन आचारसंहिता पालना र शान्तिपूर्ण निर्वाचनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको सुवेदीको भनाइ थियो ।

नेपाली कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठले निर्वाचन सम्पन्न हुन सकोस भन्ने चाहना दलहरु सबैको रहेको बताउनुभयो । उहाँले निर्वाचन भयरहित तबरले सम्पन्न हुँदै आइ रहेको र यस पटक पनि त्यस्तै हुने अपेक्ष गरिएको र त्यो बातावरण बनाउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

राप्रपा उपाध्यक्ष सञ्जु बरुवालले कुनै पनि दलबहाट निर्वाचनको उम्मेदवारका लागि टिकट आइसक्दा पनि आर्थिक कारणले गर्दा चुनावमै जान नसक्ने अवस्था सम्म सृजना हुने गरेको सुनाउनुभयो । चुनाव लड्नका लागि उम्मेदवारले गर्नुपर्ने खर्चलाई बिकास खर्चमा लगाउने खालको वातावरण बनेमा राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायतको सहभागिता रहेको थियो । सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस बिपि, राष्टिय जनमोर्चा लगायतका राजनैतिक दलको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।