ज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), माघ ३ गते । बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार थारू र २५ वर्षीय करण थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो ।
मधुवन नगरपालिका वडा नं ४ गमक्कास्थित ओराली बजारदेखि ढोढरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ७५५३ नम्बरको विद्युतीय भ्यान विपरित दिशाबाट आएको भे ११ प १९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना लगत्तै प्रहरीले उद्धार गरि बर्दिया अस्पताल पुर्याएको थियो । घाइते दुबैको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । विद्युतीय भ्यान र चालक बिक्रम बोहोरालाई प्रहरीले नियन्त्रणमा राखेको छ भने मृत्यु भएका दुवैजनाको शव बर्दिया अस्पतालमा राखिएको छ ।