पाटन म्युजियम ग्यालरीमा एउटा विशेष सामूहिक कला प्रदर्शनी भर्खरै सम्पन्न भएको छ । परम्परागत हिटी (ढुङ्गेधारा) लाई मुख्य विषय बनाइएका २० जना कलाकारका चित्र प्रदर्शनीमा राखिएका थिए । यी सबै समसामयिक कलाकार हुन् । यसर्थ पनि सबै चित्र आफैँमा आधुनिक थिए । विषय चाहिँ परम्परागत हुँदा पनि यो घटना आफैँमा आधुनिकता अनि परम्पराको गजबको सङ्गम पनि बन्यो । भन्नैपर्दा पाटनमा अवस्थित दरबार स्क्वायर पर्यटकका लागि मात्र केन्द्रविन्दु बनेको होइन । ललितपुरवासीको, अझ भनौँ सबै नेपालीका लागि यो दरबार जिउँदोजाग्दो परम्पराको दस्ताबेज पनि हो । यस्तो ऐतिहासिक दरबारको पुरानो साँघुरिएको लाम्चो अँध्यारो कोठामा कला प्रदर्शनमा आउँदा पनि आफैँमा गौरवको अनुभूत हुन्थ्यो ।
हिटी आफैँमा परम्परागत धरोहर त हुँदै हो । अझ आममान्छेको जीवन बोकेको जीवन्त अवयव पनि हो । हिटी आफँै एउटा कला हो । अझ यसैलाई विम्ब मानी अर्को कला सिर्जना हुँदा पनि यो कार्यव्रmम अझ रोचक बनेको थियो । कलाकारले आआफ्ना कल्पनामा हिटीलाई बुनी बस्दा अचम्म अचम्मका रूप देखिन्थ्यो । अनेक जीवजन्तुको काल्पनिक यथार्थ विम्ब गाँसेर प्रस्तुत गर्दा कला आफैँ अनुपम सौन्दर्यसाथ उजागर भएको देखिन्थ्यो । कलाकारको यो कलाकारिताले भावक भावुक भएका मात्र देखिँदैनथे, कलाको रसास्वादन पनि गरिरहेका देखिन्थे । विभिन्न प्रकारका हिटी समायोजन भएको यो कला प्रदर्शनी मूलतः नेपालको हिटी–परम्परा, यसको संरक्षण र महìवबारे आममान्छेको सचेतना जगाउनु पनि यसको मुख्य ध्येय थियो । यसबाहेक परम्परागत जलसम्पदा प्रणाली एउटा उत्सवका रूपमा मनाउन अनि हिटीलाई पुनस्र्थापना, पुनर्जीवन दिन समग्रमा सम्पदा संरक्षण गर्न पनि यसको उद्देश्य रहेको थियो । यो हिटी कला प्रदर्शनीको आयोजना चाहिँ शिभा चैत्य, ई आर्ट नेपाल अनि रोटरी क्लब ऐँलले संयुक्त रूपमा गरेको थियो । यसमा सहभागी कलाकारमा आशा डङ्गोल, भाइराजा महर्जन, विधाता केसी, विनोद प्रधान, विशाल महर्जन, एरिना ताम्राकार, ईशान परियार, कृपा तुलाधर, कृष्णगोपाल श्रेष्ठ, कृष्ण लामा, मुना भँडेल, प्रद्युम्न श्रेष्ठ, प्रदीप वज्राचार्य, प्रलिष्ठा महर्जन, प्रमिला वज्राचार्य, पूजा महर्जन, सागर मानन्धर, सम्झना राजभण्डारी, शैली राणा विष्ट र श्रृजु शाही थिए ।
हिटी परम्परा
नेपालमा प्राचीनकालदेखि नै अर्थात् लिच्छविकालदेखि नै आममान्छेको जीवनलाई सहज बनाउने व्रmममा व्यवस्थित हिटी बनाउने प्रचलन रहेको देखिन्छ । अझ मल्लकालमा आएर त अनगन्ती यस्ता हिटी बन्न थालेपछि आममान्छेको यो एउटा अभिन्न अङ्ग नै बन्न पुग्यो । यो ढुङ्गाको बन्थ्यो । यति मात्र होइन; पौराणिक जीवजन्तु जसलाई हिटी मङ्गस भनिन्छ, तिनलार्य राख्ने अर्थात् कँुद्ने पनि गरिन्थ्यो । यसमा मकरको यस्तो रूपलाई मात्र कुँदिदैनथ्यो सँगसँगै मयूर अनि हात्तीको सुँड, जरायोको सिङ, पखेटा आदि पनि यसैमा समायोजन गरिन्थ्यो । यसबाहेक भैँसी, माछा, चरा, भ्यागुता आदि पनि यसैमा समावेश गर्ने प्रचलन थियो । सर्प, मकरको जिउसँगै जलमानस राख्ने पनि प्रचलन देखिन्छ । अझ भन्नै पर्दा जल सम्बन्धित जलप्राणीका रूपमा अनौठा अनौठा आकृतिलाई पनि समायोजन गरिन्थ्यो । आज पनि यस्ता मकरको मुखबाट पानी खसिरहेको देखिने खालका सयौँ हिटी जताततै देखिन्छन् ।
देवी गङ्गाको स्वरूप पनि यसमा जोडिँदा यसको धार्मिक महìव अझ गजबको छ । अन्य संस्कृति, संस्कार आदि पनि यसैमा जोडिँदा पानी पिउनुको सन्दर्भभन्दा पनि धेरै कुरा यसमा गाँसिएको हुन्थ्यो । अनि सँगै देवीदेवताका मूर्तिलाई पनि स्थापित गर्ने प्रथा बन्दा वा हुने व्यवस्थाले यो एउटा धार्मिक स्थल जस्तो पनि हुन्थ्यो । आज पनि यसलाई वास्तुकलाको अर्थात् पुराताìिवक सम्पदाका रूपमा मान्ने गरिन्छ । अर्कोतिर धार्मिक र सामाजिक स्थलका रूपमा पनि प्रयोग गर्ने प्रचलन छ । उसबखत चाहिँ पानी थाप्न आउने विशेष गरेर महिलाको गफगाफ गर्ने, सुखदुःख साटासाट गर्ने, भेटघाट र रमाइलो गर्ने पनि उपयुक्त ठाउँ बनेको देखिन्थ्यो । सामाजिक व्यवस्थाका रूपमा हेर्दा विशेष गरेर त्यसबखतको खानेपानीको यो एउटा व्यवस्थित प्रणाली थियो । कहाँबाट कसरी पानी आउँथ्यो ? बगेर कहाँ जान्थ्यो ? त्यतिबेलाका मान्छेको यस्तो अलौकिक प्राविधिक ज्ञान र सिपलाई आज पनि अचम्म मानेर हेर्ने गरिन्छ । यस्तो व्यवस्थित परम्परा संस्कृतिलाई आज मान्न अनि अनुकरण गर्न छोडिसकियो । सम्भवतः आज यसको महìवलाई कलामार्फत उजिल्याउन पनि यस्तै कार्यव्रmम भइरहनु आवश्यक देखिन्छ ।
प्राचीनकालदेखि नै प्रचलनमा रहिआएको हिटीको यो सन्दर्भ मात्र पानी पिउन, लुगा धुन आदि इत्यादि मात्र पनि होइन । सांस्कृतिक कर्मकाण्ड, धार्मिक अनुष्ठान, सामाजिक भेटघाट, व्यवस्थित खानेपानी प्रणाली इत्यादिलाई साँच्चै भन्दा आज सिको गर्न आवश्यक देखिन्छ । यो मूलतः नेवारी संस्कृतिसँग नजिकबाट गाँसिएर देखा पर्ने गर्छ । यसो हुँदा पनि काठमाडौँ उपत्यकाको नेवार समुदाय बसोबास गर्ने घरबाससँग मिलेर विकास भएको देखिन्छ । नेवार समुदायको वास्तुकलाको सन्दर्भमा गुजुमुच्च भएर बस्ने परम्परामा भित्रपट्टि ठुलो चोक, चोकमा पौवापाटी, मठमन्दिर अनि सँगै वा नजिकै यसैको एउटा अङ्ग भएर यस्ता हिटी देखा पर्ने गर्छन् । नेवाः संस्कारमा गाँसिएर देखा पर्ने यस्ता हिटीले यो समुदायलाई एक ठाउँमा बाँधेर मात्र राखेन; यसलाई अनेक पूजापाठ, जात्रा आदिमा पनि जोडेर विकास गरेको पाइन्छ । आआफ्ना समुदाय र आराध्यदेव अनुसार देव विष्णु, देव शिवदेखि स्तूपसम्म पनि सँगै राख्ने प्रचलन उहिलेदेखि नै देखिन्छ । यसर्थ पनि हिटी आज पनि बाँच्दै आएको देखिन्छ ।
अर्को महìवपूर्ण कुरा, यो हिटी हिन्दु र बौद्ध दुवैको आस्था एवं विश्वासको केन्द्रका रूपमा पनि रहेको देखिन्छ । विसं २०१९ मा काठमाडौँ भ्याली वाटर सप्लाई म्यानेजमेन्ट बोर्डले एक अध्ययन गरी ५७३ वटा यस्ता धारा रहेको पत्ता लगाएको थियो । तिनमा २२४ वटा चलिरहेको अवस्थामा र ९४ वटा पूर्णतः क्षतविक्षत अवस्थामा रहेको उल्लेख भएको छ । बाँकी हिटी कता छन्, खोजीकै विषय बनेको छ । लिच्छविकालमा यसलाई कृति भनिन्थ्यो । अर्थात् सिर्जनात्मक कलाका रूपमा अथ्र्याइने गरिन्थ्यो । त्यस बेला यो आध्यात्मिक प्रतीकका रूपमा रहेको पनि इतिहास छ ।
कलाको कुरा
धेरै कलाकारले कुनै न कुनै प्रचलनमा रहिरहेको वास्तविक हिटी अनि यसका विशेषतालाई अनुकरणात्मक हिसाबमा आधुनिक पाराले संयोजन गरेका छन् । कसै कसैले चाहिँ यसैमा पनि आफ्ना थप विम्बलाई गाँसेर नौलो संरचनामा प्रस्तुत गरेका छन् । कृपाले ‘मेमोरी इमेज एन्ड स्टोरिज’ नाम दिएर डेकोरेटिभ फर्ममा हिटीलाई प्रस्तुत गर्नुभएको छ । चारैतिर फूलका बुट्टाले घेरिएको यो उहाँका कलागत संयोजनमा दुई मानव मूर्तिको अहम् भूमिकासाथ नाटकीय ढङ्गले प्रस्तुत भएको देखिन्छ । हिटीकोे माथिल्लो भागमा देवीदेवतालाई पनि स्थापित गरिनुले यसमा एउटा धार्मिक स्थलको प्रत्याभूतिसमेत भएको देखिन्छ । सम्झनाले चाहिँ ‘हिस्टोरिक प्रिजर्वेसन’ नामका साथ मिक्स मेडियामा काम गर्नुभएको छ । जहाँ चारैतिर रेखाको बाहुल्यमा कुँदिएका देव–विष्णु, देव–गणेश आदि कलात्मक रूपमा प्रस्तुत भएका देखिन्छन् । हिटीलाई बुट्टाले घेरेर प्रस्तुत हुनु गरिनुले पनि यसमा अझ रौनक थपिएको अनुभूत हुन्छ । सपाट संरचना छ । अनि रेखाको बाहुल्य छ । तत्पश्चात् देवीदेवता अनेक रूपमा देखा परेका छन् । यसले हिटी कसरी धर्म अनि यसैमार्फत मानवसँग जोडिएको छ । स्पष्ट अनुभूत हुन्छ । मूलतः यो उहाँको प्रिन्ट मेकिङ काम हो । गत वर्षदेखि उहाँले यसै विधामा आफ्ना शिल्प दक्षतालाई देखाउँदै आउनुभएको छ ।
सागरको ‘फिगरेटिभ एब्स्ट्राक्सन’ थोरै नौलो संयोजनसाथ उदय भएको देखिन्छ । हिटी उहाँको अमूर्ततामा लुकेर बसेको अनुभूत हुन्छ । मूलतः उहाँ खारिएका अमूर्त कलाकार हुनुहुन्छ । यसपल्ट उहाँले आकारलाई पनि अघि सारेर अलग्गै संरचना प्रस्तुत गर्ने कोसिस गर्नुभएको छ । गोलाकार परिधिभित्र रेखाहरू चलमलाउन खोज्दाखोज्दै पनि समग्रमा अमूर्तताले थिची बस्दा उहाँको कलामा अमूर्तताकै सौन्दर्य, रङको मिठास नै स्पष्ट रूपमा दृष्टिगोचर हुन्छ । आशाले हिटीको यथार्थ रूपलाई आधुनिकतामा पस्कने जमर्को गरेको देखिन्छ । संरक्षणको प्रतीकात्मक विम्बका रूपमा उहाँका आफ्नै हात उठेका छन् । सङ्लो पानी आउँदै गरेका हिटीलाई अनेक जीवजन्तुको प्रतीकात्मक विम्ब अनि हिमालको विम्बले हाम्रो मौलिकताको द्योतक हुनु देखिनु पनि उहाँको कलाको थप आकर्षण हो । कृष्णगोपालले सुनधाराका हिटीलाई सुन जस्तै पारेर प्रस्तुत गर्नुभएको छ । मकरको मुखबाट निस्केको भैँसी, अनि भ्यागुता र शिवलिङ्गको प्रतीकात्मक विम्ब बनाएर हिटीको अद्भुतलाई प्रदर्शनमा ल्याइएको छ ।
अति डिटेलमा बनाइएको यो उहाँको चित्र खाइलाग्दो पनि बनेको देखिन्छ । प्रमिलाले हिटीसँगै महिलाको आकृतिलाई पनि समायोजन गर्दै महिला र हिटीको गहिरो सम्बन्धलाई प्रस्तुत गर्नुभएको छ । अलग स्वरूपको महिलाको मुखाकृति प्रयोग गरी बस्ने उहाँका आफ्नै कलागत विशेषता पनि हो । कृष्ण लामाले नागको शøयामा आराम गरिरहेका देव विष्णुका साथ हिटी जोडिँदै गर्दा नौलो स्वादलाई पनि पस्कन भ्याउनुभएको छ । अनगन्ती हिटीका रूपमा अनगन्ती मकर, देवीदेवता अनि आममान्छे, खोलानाला, रुख आदि अनेक वस्तु समायोजन हुँदा स्वयम्मा आकारमूलक अमूर्तताको अनुभूत हुन्छ । पूजाले हिटीसँगै आजको वाटर सप्लाईको ट्याङ्करलाई प्रस्तुत गर्नुभएको छ । एरिनाको ‘ब्युटी अफ तुसा हिटी’ चित्रमा गरुडमाथि आरूढ आराध्यदेव विष्णु अनि देवी लक्ष्मीसहित तीनमुखे गोहीको अनुपम संरचना रहेको देखिन्छ । देवदेवीसमेतको देवस्थल अनि मकरको अमूर्त मुखाकृतिका साथ आकर्षक पात्रको चयन र प्रस्तुतिले हिटीको प्रणालीलाई धर्मसँग नजिकबाट गाँसेको अनुभूत हुन्छ । चित्रपटमा पानीको धारा बगाएर भावनात्मक विम्बमा सेता धर्का देखिनु पनि यो चित्रको अब्बल भाग हो । भाइराजाले हिटी सँगैसँगै टाँसेको सूचनालाई समेत चित्रणमा उतारेर आजको हिटीको अवस्थालाई प्रतिविम्बित गर्नुभएको छ । ईशानले सिङ्गो मन्दिर, दरबार आदिलाई सँगै राखी काल्पनिक सिंहबाट पानीको धारा बगाउँदै आफ्नो कलालाई प्रस्तुत गर्नुभएको छ । ‘इकोज अफ सर्फेस’ नामक चित्रमा मुनाले फूलपातको लहरापहरा, बाँदर आदिको झाडीमा सुन्दर तरिकाले हिटीलाई प्रस्तुत गर्नुभएको छ । पुराना भाँडाकुँडा, आदिलाई पनि यसैमा समायोजन गरी नेवारी संस्कृतिसँग हिटीलाई जोड्ने प्रयास गजबको देखिन्छ । प्रदीप भने हिटीसँग महिलाको दिनचर्यासँग जोडिन खोज्दै गरेको पाइन्छ । प्रद्युम्नले विनाश भइरहेको थुप्रै हिटीको अमूर्ततामा संयोजन गर्नुभएको छ ।