मधेश प्रदेश ब्युरो
जनकपुरधाम, माघ ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशका आठ वटै जिल्ला सदमुकाममा शुव्रmबार मुख्य निर्वाचन अधिकृतकोे कार्यालय र जिल्लाको निर्वाचन क्षेत्रको केन्द्र भएका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनसम्बन्धी उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, प्रशासनिक कामकारबाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित कामकाज सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालय स्थापना गरिएको हो ।
धनुषा समाचारदाताका अनुसार धनुषाका लागि मधेश प्रदेशको जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको र सोही ठाउँमा धनुषा क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनुषा क्षेत्र नं. १ का लागि धनुषाधाम नगरपालिकाको धनुषाधाममा, धनुषा क्षेत्र नं. २ का लागि विदेह नगरपालिकाको तिनकौरिया चोकमा र धनुषा क्षेत्र नं. ४ का लागि छिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित जैसीबाबा धर्मशालामा निर्वाचन अधिकृतको कार्यालय शुव्रmबारदेखि सञ्चालनमा आएको छ । धनुषा क्षेत्र नं. १ का लागि मनोज बराल, क्षेत्र नं. २ का लागि दामोदर रेग्मी र क्षेत्र नं. ४ का लागि पुरुषोत्तम खतिवडा निर्वाचन अधिकृत रहनुभएको छ ।
जलेश्वर समाचारदाताका अनुसार महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा कार्यालय उद्घाटन गर्नुभयो ।
यसैका साथै निर्वाचन क्षेत्र नं. १ का लागि बर्दीबास उद्योग वाणिज्य सङ्घको कार्यालय, निर्वाचन क्षेत्र नं. २ का लागि आधारभूत अस्पताल भवन, बलबा नगरपालिका–७, बनौटा र निर्वाचन क्षेत्र नं. ४ का लागि महेन्द्र रामावि, रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. ३ को भने मुख्य निर्वाचन अधिकृतकै कार्यालयबाट कामकाज हुने जनाइएको छ । सो निर्वाचन क्षेत्रमा व्रmमशः क्षेत्र नं. १ का लागि गगनदेव महतो, क्षेत्र नं. २ का लागि शोभाकर खरेल र क्षेत्र नं. ४ मा नारायणप्रसाद चापागाई निर्वाचन अधिकृत रहनुभएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी यादवले निर्वाचन स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सर्लाही समाचारदाताका अनुसार सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा शुव्रmबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं. १ को लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय, चन्द्रपुर; क्षेत्र नं. २ को साबिक जिविस भवन, मलङ्गवा; क्षेत्र नं. ३ को मालपोत कार्यालय, हरिवन र क्षेत्र नं. ४ को वेणीभोला नमुना माध्यमिक विद्यालय, गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मलङ्गवास्थित साबिक जिविस भवनमा रहेको क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहने छ ।
सर्लाहीमा क्षेत्र नं. १ बाहेक अन्य तीन वटा निर्वाचन क्षेत्रमा अघिल्लो पटक निर्वाचन अधिकृतको कार्यालय रहेकै स्थानमा स्थापना गरिएको हो । क्षेत्र नं. १ मा यसअघिको निर्वाचनमा पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–६ मा रहेको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालय रहेको थियो । चन्द्रपुर समाचारदाताका अनुसार रौतहटमा जिल्ला अदालतको छेउमै रहेको करदाता सेवा कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । यससँगै रौतहटका बाँकी तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि करदाता सेवा कार्यालय गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का लागि परोहा नगरपालिकाको कार्यालय लौकाहा अन्तर्गत रहेको कृषि तथा पशु सेवा केन्द्रको भवनमा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को लागि कटहरिया नगरपालिकाको कार्यालय, कटहरिया तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ का लागि चन्द्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले जानकारी दिनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अगाडि बढाइएको उहाँले बताउनुभयो ।
कल्याणपुर समाचारदाताका अनुसार सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सप्तरी सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथसाथै निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं. १ को कञ्चनरूप नगरपालिका–३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिनले उद्घाटन गर्नुभयो । मुख्य निर्वाचन अधिकृतमा सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरे रहनुभएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन अधिकृत जानकीरमण यादव, क्षेत्र नं. ३ मा सीताराम अर्याल र क्षेत्र नं. ४ मा विष्णुप्रसाद आचार्य निर्वाचन अधिकृत रहनुभएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार गतिविधि अगाडि बढ्ने बताउनुभयो ।