अमरराज नहर्की
तनहुँ, माघ ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा ‘निर्वाचन प्रहरी’ भर्नाको म्याद दुई दिन थप गरिएको छ । जिल्लाका लागि तोकिएको कोटा अनुसार आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले दरखास्त दिने समय सीमा शनिबार अर्थात् माघ ३ गतेसम्म बढाएको हो । आज सार्वजानिक बिदा भए पनि आवेदन दिन पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार यसअघि माघ १ गतेसम्म आवेदन दिने म्याद तोकिएकोमा माघ ३ गते सम्मलाई थप गरिएको हो । आवश्यकभन्दा कमले निर्वाचन प्रहरीमा आवेदन दिएपछि समय थप गरिएको हो । शुक्रबारसम्म महिला ३०१ र पुरुष १०२० गरी एक हजार ३२१ जनाले आवेदन दिएका छन् । तनहुँ जिल्लाका लागि सरकारले एक हजार ७५२ जना निर्वाचन प्रहरीको कोटा निर्धारण गरेको भए पनि माग अनुसार आवेदन नपरेपछि इच्छुक नेपाली नागरिकहरूलाई समेट्न समय थप गरिएको कार्कीले जानकारी दिनुभयो ।
आवेदन जिल्ला प्रहरी कार्यालय तनहुँ, ईलाका प्रहरी कार्यालयहरु आँबुखैरेनी, बन्दीपु, भानु र बेलचौतारामा दिन मिल्ने व्यवस्था मिलाइएको छ । ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ बमोजिम भर्ना प्रक्रिया अगाडि बढाइने र यसमा पूर्व सुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा काम गरेका अनुभवी र २०८२ पुससम्म सुरक्षा निकायको भर्ना प्रक्रियामा सहभागी भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।
निर्वाचन प्रहरीका लागि पुरुषको उचाइ न्यूनतम ५ फिट २ इञ्च र महिलाको ४ फिट १० इञ्च हुनुपर्ने मापदण्ड तोकिएको छ । थप गरिएको म्यादपछि आवेदकहरूको छनोट प्रक्रिया आगामी माघ ९ गतेभित्र सम्पन्न गरिने र सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि सुरु हुने कार्यतालिका रहेको जानकारी समेत प्रनाउ बिकले दिनुभयो । आवेदन दिएकाहरुलाई माघ ४ गते सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।