प्रवीण कुमार शर्मा
रौतहट, माघ ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । रौतहटमा जिल्ला अदालतको छेउमै रहेको करदाता सेवा कार्यालयको भवनमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । यससँगै रौतहटका बाँकी तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि करदाता सेवा कार्यालय गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकाको कार्यालय लौकाहाअन्तर्गत रहेको कृषि तथा पशु सेवा केन्द्रको भवनमा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर ३ का लागि कटहरिया नगरपालिकाको कार्यालय कटहरिया तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले जानकारी दिनुभयो ।
फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि जिल्ला मुख्य निर्वाचन अधिकृतको भूमिकामा रहनु भएका रौतहट जिल्ला अदालतका न्यायाधिश मनोज केसीले निर्वाचन आयोगद्वारा जारी गरिएको नीति निर्देशनलाई अवलम्बन गरेर निर्वाचनका प्रक्रियाहरु अघि बढाउने क्रममा शुक्रबार जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधीश मनोज केसी मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा खटिनुभएको छ । यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा सिताराम खड्का, निर्वाचन क्षेत्र नम्बर ३ मा अवध किशोरप्रसाद कुश्वाहा तथा निर्वाचन क्षेत्र नम्बर ४ मा उद्धव ढोडारी निर्वाचन अधिकृतको रूपमा खटिनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, दुई नम्बर निर्वाचन अधिकृत न्यायाधिश सिताराम खड्का, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्ण प्रदीप बस्याल, परोहा नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादव, जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादव सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया जिल्लामा औपचारिक रुपमा सुरु भएको छ ।