अमरराज नहर्की
तनहुँ, माघ ३ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल मृत अवस्थामा फेला परेका छन् । माघ १ गतेदेखि हराएका भुजेल शुक्रबार साँझ मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भुजेल माघ १ गते दिउँसो करिब ४ बजे भिमादस्थित रङ्गशालामा भलिबल खेल हेर्न जान्छु भन्दै ग १३ प ४०४२ नम्बरको बुलेट मोटरसाइकल चढेर घरबाट निस्किनु भएको थियो । अबेरसम्म घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।
खोजतलास गर्ने क्रममा माघ २ गते साँझ ६ बजे म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भित्री सडक खण्डमा उहाँको शव फेला परेको हो । सडकबाट करिब ४०–४५ मिटर तल रुपाकुना खोलाको खोचमा मोटरसाइकलसहित खसेको अवस्थामा भुजेलको शव भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौतारा र आफन्तको सक्रिय खोजीका क्रममा फेला परेको उक्त शवलाई प्रहरी टोलीले राति ८ बजे घटनास्थलबाट बाहिर निकालेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाइएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।