• ३ माघ २०८२, शनिबार

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

लमजुङको बेंसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, माघ ३ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङ सदरमुकाम बेंसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम सञ्चालन गर्न शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला समन्वय समितिको कार्यालयको तल्लो तल्लामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत लमजुङका न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले उद्घाटन गर्नुभयो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत ढकालले सबैलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुन्छ । हामी सबै मिलेर निर्वाचन सफल बनाउन लाग्नुपर्छ ।’’

प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले निर्वाचनलाई सफल पार्ने पत्रकारको पनि दायित्व भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउँदै समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा यसै कार्यालयमार्फत गरिने जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

लमजुङमा १३० मतदानस्थलमा १८६ मतदान केन्द्र रहेका छन् । यी मध्ये ३० मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहेका छन् । ७७ मतदानस्थल संवेदनशील र २३ मतदानस्थल सामान्य रहेको सुरक्षा समितिको विश्लेषण छ । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको छ । निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए ।