• ३ माघ २०८२, शनिबार

साङ्गीतिक कार्यक्रमसहित बाथरोगविरुद्ध अभियान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । साङ्गीतिक कार्यक्रमसहित नेसनल बाथरोग सेन्टरको आयोजनामा माघ महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । 

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले माघ महिनाभर बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा कुटुम्बसँगको सहकार्यमा ‘स्वस्थ जीवनका लागि सुमधुर सङ्गीत’ कार्यव्रmम आयोजना गरिने जानकारी दिनुभयो । 

‘स्वास्थ्य तपाईंको, सेवा हाम्रो’ भन्ने नाराका साथ बाथरोग सेन्टरले स्वास्थ्य शिविर तथा साङ्गीतिक कार्यव्रmमसहित अभियान सञ्चालन गर्न लागेको हो । बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको बाथरोग अभियान देशभर टोल टोलमा पुग्ने जनाइएको छ । बाथरोग सेन्टरले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ महानगरभित्र तथा सेन्टरका विभिन्न देशभर फैलिएका शाखामार्फत बाथरोग जागरण अभियान सञ्चालन गर्ने भएको हो । प्रबन्ध निर्देशक कक्षपतीका अनुसार नेसनल बाथरोग सेन्टर र बद्री तीर्थ अर्थराइटिस समाजको संयुक्त आयोजनामा सञ्चालन हुने जागरण अभियान अन्तर्गत बाथरोगसम्बन्धी फोटो प्रदर्शनी, रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण तथा जनचेतनामूलक साङ्गीतिक कार्यक्रम आयोजना गरिने छ । 

दुई प्राध्यापकलाई सम्मान

अभियानकै अवसरमा नेपाल ज्येष्ठ प्राध्यापक समाज र गणित विज्ञानमा नेपाली महिला संस्थाको छनोटमा परेका नेपालका ज्येष्ठ प्राध्यापकहरूलाई ‘तीर्धानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । भौतिक विज्ञान क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयकी ४३ वर्ष सेवा अनुभव हासिल गर्नुभएकी भौतिक विज्ञान विषयकी प्राध्यापक तथा पाटन संयुक्त क्याम्पसकी पूर्वक्याम्पस प्रमुख प्राध्यापक जयश्री मल्ल अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको हो । त्यसै गरी गणित विज्ञानमा नेपाली महिला संस्थाकी पूर्वअध्यक्ष प्राध्यापक धनकुमारी थापालाई पनि सोही अवार्ड प्रदान गरिएको छ ।