• ३ माघ २०८२, शनिबार

सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

सप्तरीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), माघ ३ गते ।
आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयस्थापना भएको छ ।

एकैदिन शुक्रबार छुट्टाछुट्टै समयमा चार वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना भएको हो । क्षेत्र नम्बर १ को कंचनरुप नगरपालिकाको वडा नम्बर ८ स्थित रौनियार सेवा समितिमा, क्षेत्र नम्बर २ को राजविराज नगरपालिका वडा नम्बर ७ स्थित जिल्ला खेलकुद विकास समितिमा, क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

क्षेत्र नम्बर १ को कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, क्षेत्र नम्बर २ को राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परवीन, क्षेत्र नम्बर ४ को मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले उद्घाटन गर्नुभएको थियोे ।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित उक्त कार्यालयहरू स्थापना गरिएको सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश तथा सप्तरीका मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । जसको उम्मेदवारी दर्ता माघ ६ गते हुने भएको छ ।