ढोरपाटन (बागलुङ), माघ ३ गते । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ ।
ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायी मात्र यहाँ छन् । पाँच वर्षअगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो तर यस वर्ष हिउँदमा पनि पर्यटकको चलहपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ ।
गत वर्ष यतिबेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पर्यटक आउन थालेपछि होटेल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटेल बन्द हुने गरे पनि अहिले एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटेल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो ।
पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको भन्दै हिउँदमा पनि पर्यटकको चहलपहल पहिलो पटक भएको उहाँको भनाइ छ । यस सिजनमा शुव्रmबार र शनिबार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताउनुभयो । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उहाँको भनाइ छ ।
“गत वर्ष यतिबेला सुनसान नै भएको थियो तर अहिले दैनिक पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनथे,” अध्यक्ष अदैले भन्नुभयो, “अब त बिस्तारै सडक पनि राम्रो हुँदै छ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।”
एक दशकअगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
ढोरपाटन उपत्यकासँगै बुकी पाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटेल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडोमा पर्यटक आउन थालेको बताउनुभयो । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उहाँको भनाइ छ ।
नवलपुरदेखि घुम्न आउनुभएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताउनुभयो । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उहाँले सुनाउनुभयो । यस सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उहाँले सुझाउनुभयो ।
जाडोका कारण स्थानीय बोबाङ, अधिकारी चौर र निसी खोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिन्छन् । पोहोरसम्म पर्यटकको आगामन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे तर अहिले त्यस्तो अवस्था छैन ।