गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताउनुभएको छ । चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल तामाङ घेदुङका प्रतिनिधिसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा पैसाको धेरै खेल हुने गरे पनि अबका निर्वाचनमा पैसाको खेल अन्त्य गरेर जानुपर्ने बताउनुभएको हो । “विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनु पर्छ । मतदाता पनि यसमा चनाखो बन्नु पर्छ,” प्रधानमन्त्रीको भनाइ थियो ।
“मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, गत भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनु हुँदैन । युवाको आकाङ्क्षा अनुरूप हामी चल्नु पर्छ । तपाईंहरू पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसद्मा पठाउनुहोस् । पुरानो मानसिकताले अब देश चल्दैन । पुरानो सोच र शैलीले पनि चल्दैन । अब नयाँ नै आउनु पर्छ, युवा आउनु पर्छ र इमानदार आउनु पर्छ । युवाको भावना अनुसार शासन चल्नु पर्छ ।”
प्रधानमन्त्रीसँगको शुक्रबारको भेटमा नेपाल तामाङ घेदुङ प्रतिनिधिले समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक सामाजिक अवस्थालगायत विषयमा चर्चा गर्नुभयो । तामाङ घेदुङले आउँदो माघ ५ गते (सोमबार) सोनाम ल्होसारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्रीलाई घेदुङ प्रतिनिधिले अनुरोध गरेका हुन् । साथै घेदुङका पदाधिकारीले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षणसमेत गराएका छन् ।