आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक नेतृत्वलाई डिजिटल साक्षर नबनाई सूचना प्रविधिको विकास र विस्तार हुन सक्दैन । किनकि डिजिटल साक्षरताको क्षेत्र व्यापक र विशाल छ । युरोपेली सङ्घले कुनै पनि व्यक्ति डिजिटल साक्षर हुन उसमा २१ वटा फरक–फरक क्षमता हुनु पर्छ भनेको छ । यीमध्येको एउटा डिजिटल (साइबर) सुरक्षा हो । विश्व डिजिटल युगमा गइरहँदा इन्टरनेटमा पाइने सामग्रीको प्रयोग गर्न जान्नु, ठिक÷गलत के हो छुट्याई त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नु, के कस्ता मान्छेहरूसँग जोडिने र के कसरी कुरा गर्ने आदि डिजिटल साक्षरताका व्यावहारिक पक्ष हुन् । कसैलाई इन्टरनेटमा पाइने कुरा ठिक हुन्, जस्तो लाग्न सक्छ । डिजिटल माध्यममा आएका सबै कुरा ठिक हुन्छन् भन्ने होइन । आफूलाई नचाहिने सामग्रीको बेवास्ता गर्न सक्नु पर्छ । यसो हुँदा हामी इन्टरनेटमा सभ्य देखिन्छौँ । कतिपयले व्यङ्ग्यात्मक सामग्री सेयर गर्दा रमाइलो मान्छन् । रमाइलोको नाममा उरन्ठ्यौला प्रकृतिका र समाजलाई पाच्य नहुने अपरिपक्व प्रकृतिका भिडियो÷सामग्री बनाई पोस्ट गरेका पाइन्छन् । फेसबुकलगायतका सामाजिक सञ्जालमा गरेको पोस्टमा कतिले लाइक, कमेन्ट र सेयर गरे भन्ने जस्तो अति सामान्य कुरामा मानिस लालायित भइरहेका पाइन्छन्, जसले मान्छेलाई अनावश्यक रूपमा व्यस्त बनाइरहेको छ । यो कुराले धेरैको मनोविज्ञानमा असर पारेको छ । मानिसहरूले सामाजिक सञ्जालमा अनावश्यक सामग्रीहरू पोस्ट तथा सेयर गरेर आफ्नो पहिचान (प्रोफाइल) बिगारिरहेका छन् । परिणामस्वरूप उनीहरूको व्यक्तित्वमा नराम्रो असर परिरहेको हुन्छ । जुन डिजिटल साक्षरताको अभावमा हुन पुगेको हो । यसबारे उनीहरूलाई बुझाउन आवश्यक छ ।
डिजिटल प्रविधि वा इन्टरनेट प्रयोगका धेरै चुनौती पनि छन् तर यसबाट हट्ने अवस्था छैन । बरु आफूलाई प्रविधिमैत्री र साक्षर बनाउन सक्यो भने अधिक फाइदा लिन सकिन्छ । विश्वको बहुसङ््ख्यक जनसङ्ख्या कुनै न कुनै रूपमा इन्टरनेटको विश्वव्यापी सञ्जालमा जोडिइसकेको छ । जसले कुनै पनि पेसा, व्यवसाय र दैनिकीमा प्रभाव पारेको छ । नागरिकका अधिकांश काम डिजिटल प्रविधिबाट हुने गरेका छन् । यतिबेला नागरिकलाई डो¥याउनुपर्नेमा नागरिकहरू अगाडि बढिरहेको र सरकार पछिपछि हिँडिरहेको जस्तो देखिन्छ । अतः प्रविधिको पहुँचमा वृद्धि गरी सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने, साक्षरता दर वृद्धि गर्ने, भाषागत समस्या र गरिबी निराकरण आदि पक्षहरू डिजिटल साक्षरता प्रवर्धनका चुनौती बनेका छन् । कानुनी, नीतिगत, संरचनागत तथा कार्यगत कमजोरीका कारण साइबर अपराध, सुरक्षाको कमी, संवेदनशील डाटा सर्भर तथा वेभसाइट ह्याक हुनु, ई बैङ्किङ आदि सुरक्षा चुनौतीका रूपमा रहेका छन् । तिनको समाधानका लागि सरकारले रणनीतिक योजना बनाई अल्पकालीन, दीर्घकालीन र समावेशी योजना बनाउनु पर्छ । दुर्गम क्षेत्रहरूमा इन्टरनेट, मोबाइल र कम्प्युटर जस्ता डिजिटल उपकरणहरूमा सरकारले सहुलियत पहुँचको व्यवस्था गर्नु पर्छ । सङ्घ संस्थासँग मिलेर विद्यालय, कलेज, ग्रामीण समुदायमा इन्टरनेटको सुलभ वितरण, इमेल र सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा महìवको बारेमा तालिम दिनु पर्छ । सार्वजनिक सेवाहरू सहजै रूपमा डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने भरपर्दो प्रणालीको विकास गर्नु पर्छ । दीर्घकालीन रूपमा विद्यालय र विश्वविद्यालयका पाठ्यव्रmममा डिजिटल साक्षरतासम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने देखिन्छ । रोजगारीको सम्भावना बढाउन युवा पुस्ताका लागि रोजगारीमूलक डिजिटल तालिम तथा सिप सिकाइ समग्र देशको आर्थिक विकासमा टेवा पु¥याउने रणनीतिक योजना निर्माण गर्नु पर्छ ।
नेपालका डिजिटल प्लेटफर्मले ई कमर्स, डिजिटल वालेट र भुक्तानी, पहुँचयोग्य र शीघ्र सूचनाका लागि सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब), खाना अर्डर र डेलिभरी तथा टिकट बुकिङ जस्ता सेवाहरू प्रदान गरेका छन् । जसमा मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेटका बिल भुक्तानी, बजारमा किनमेल गर्दा, जागिर खोज्ने, हाम्रो पात्रो, मोबाइल बैङ्किङ एपहरू सञ्चालनमा छन् । त्यसै गरी सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका सेवा सुविधाहरू, नागरिक बडापत्रलगायतका सूचना तथा जानकारीका लागि वेबसाइट बनेका छन् । शैक्षिक क्षेत्रमा हेर्दा विश्वव्यापी ज्ञान तथा आवश्यक स्रोत सङ्कलनका लागि सूचना प्रविधिको प्रयोग गर्न आवश्यक छ । अनलाइन माध्यमबाट तालिम, कार्यशाला, गोष्ठी र उच्च शिक्षा पूरा गर्न डिजिटल साक्षरता आवश्यक छ ।
आर्थिक वृद्धि र विकासका लागि डिजिटल साक्षरता महìवपूर्ण आधार साबित हुँदै आएको पाइन्छ । डिजिटल बैङ्किङ, ई कमर्स, सेयर कारोबार, अनलाइन व्यवसायको कारणले आर्थिक गतिविधिहरूलाई पारदर्शी, मितव्ययी तथा प्रभावकारी बनाएको छ । डिजिटल साक्षरताको कारण भ्रष्टाचार, महँगी र अनियमिततालाई रोक्न सहयोग गरेको पाइन्छ । स्वास्थ्य क्षेत्रमा बिरामीका अभिलेख राख्दा, टेलिमेडिसिन, वेब पोर्टल, विभिन्न एप्लिकेसनमार्फत अनलाइन परामर्शदाताले स्वास्थ्य सेवाको पहुँच वृद्धि गरेको पाइन्छ । सामाजिक क्षेत्रमा जनचेतना फैलाउने, जागरुक गराउने आपसी सम्बन्ध निर्माण जस्ता ग्रामीण नागरिकको सशक्तीकरणमा सहयोग पु¥याएको छ । साइबर सुरक्षासम्बन्धी चुनौतीको सामना गर्न, अनलाइन ठगी, ह्याकिङ, साइबर अपराधबाट बच्नको लागि डिजिटल साक्षरता महìवपूर्ण छ । नेपाल राष्ट्र बैङ्कले विभिन्न समयमा अनलाइन बैङ्किङ सुरक्षासम्बन्धी सचेतनामूलक सूचना प्रवाह गर्दै आएको छ । पर्यावरणीय संरक्षण, आधुनिक कृषि खेतीको प्रवर्धन, ऊर्जाको सदुपयोग, वातावरणमैत्री परियोजनाको प्रवर्धन तथा दिगो विकासको अवधारणामा प्रोत्साहन गर्न विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्न डिजिटल साक्षरताको आवश्यकता देखिन्छ ।
डिजिटल साक्षरता कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासको आधारस्तम्भ हो, जसले शिक्षाको नयाँ आयामको सीमाभन्दा बाहिर गएर आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको समग्र विकासको आधारशिला स्थापित गर्छ । नेपालको सन्दर्भमा डिजिटल प्रविधिले ल्याउने चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै समस्या समाधान गर्न र डिजिटल साक्षरताको प्रवर्धन गर्न प्रभावकारी नीति, रणनीति र कार्यान्वयनयोग्य योजना आवश्यक छ । सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाले स्थानीय तहदेखि केन्द्र, ग्रामीणदेखि सहर, बच्चादेखि वृद्धसम्म, डिजिटल प्रविधिको प्रयोग र महìवबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्छ । यस्तो पहलबाट प्रत्येक नागरिकले डिजिटल युगको अवसरलाई उपयोग गर्दै नेपालको समग्र विकास र प्रवर्धनमा योगदान पु¥याउन सक्षम हुने छन् । जसले नयाँ युगको अवसरलाई आत्मसात् गरी समग्र राष्ट्रको प्रगतिको मार्गलाई सुगम बनाउने छ ।