नारद कोहार
तौलिहवा (कपिलबस्तु), पुस २९ गते । कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको छनोट खेल सुरु भएको छ ।
तौलिहवा स्थित बुद्धपद्म माविको खेल मैदानमा नगर प्रमुख सुदीप पौडेलले ब्याटिङ र क्रिकेट सङ्घका जिल्ला अध्यक्ष प्रकाश गैरेले बलिङ गरी छनोटको शुभारम्भ गरिएको हो ।
जिल्ला क्रिकेट सङ्घको आयोजनामा भएको छनोट समारोहमा नगर प्रमुख पौडेलले अहिले नेपालमा त्रिकेटको क्रेज बढेको बताउनु भयो । उहाँले कपिलवस्तुबाट विश्व कप क्रिकेट खेल्नका लागि प्रतियोगीतामा जिल्लाबाट समेत खेलाडी छनोट भएको गौरवको कुरा भएको बताउनु भयो ।
उहाँले क्रिकेटबाट अहिले राम्रो खेलाडीले सजिलै आफ्नो भविष्य बनाउन सक्ने बताउनु भयो । क्रिकेटलाई तिनै तहका सरकारले लगानी बढाउनु पर्ने उहाँको भनाइ छ ।
सो अवसरमा सङ्घका जिल्ला अध्यक्ष गैरेले छनोट का लागि ६० बढी खेलाडीले आफ्नो नाम दर्ता गराएको बताउनु भयो । ६ दिनसम्म चार समुह बनाई खेल खेलाइने र खेलाडीको प्रर्दशनका आधारमा १५ जना खेलाडी छनोट गरी प्रदेशमा खेल्नका लागि पठाइने बताउनु भयो ।
माघ ११ देखि लुम्बिनी प्रदेशको छनोट कार्यक्रम रहेको छ । जसमा ७ जिल्लाका खेलाडी सहभागी हुने छन छनोट कार्यक्रममा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाको समेत सहभागिता थियो ।