साहारा लिम्बू
फुङलिङ, पुस २९ गते । मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १३ स्वर्ण, ६ रजत र ७ कांश्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो ।
७ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय र ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण, ६ रजत र २ कांश्य पदक जितेर पाँचौँ भएको छ ।
सुर्के मावि थुकिमाले १ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर छैटौँ भएको छ भने स्वर्णविहीन सिंहकाली मावि २ रजत र २ कांश्यमा सीमित भएको छ ।
अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट अन्तरपालिका स्तरीय प्रतियोगिताका लागि छनाेट भएका खेलाडीलाई मेरिङदेन गाउँपालिकाले बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा राख्ने भएको छ ।
यस वर्षको १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुँदैछ ।