• २९ पुस २०८२, मङ्गलबार

उपचारभन्दा रोकथाममा ध्यान दिउँः स्वास्थ्यमन्त्री शर्मा

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतम ‘साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसिडी एन्ड मेन्टल हेल्थ स् स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोस्ट युएन एचएलएम–२०२५’लाई सम्बोधन गर्नु हुँदै ।

ललितपुर, पुस २९ गते । नेपाल एनसिडी एलायन्सको आयोजनामा नसर्ने रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसिडी एन्ड मेन्टल हेल्थ : स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोस्ट युएन एचएलएम–२०२५’ सम्पन्न भएको छ ।

साउथ इस्ट एसिया रिजनल (सेरो) एनसिडी एलायन्स र नेपाल एनसिडी एलायन्सको संयुक्त आयोजनामा उक्त अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको मुख्य उद्देश्य सन् २०२५ को संयुक्त राष्ट्र सङ्घीय उच्च स्तरीय बैठक पछि नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा गरिएको प्रतिबद्धता अनुसार यस क्षेत्रका राष्ट्रहरूमा कार्यान्वयन अवस्थालाई सुदृढ गर्न रहेको छ । सम्मेलनमा नेपाल एनसिडी एलायन्स, बङ्गलादेश एनसिडी फोरम, हेल्दी इन्डिया एलायन्स, बङ्गलादेश नन् कम्युनिकेवल डिजिजेज फोरम, एनसिडी एलायन्स श्रीलङ्का, मालदिभ्स एनसिडी एलायन्स, इन्डोनेसिया एनसिडी एलायन्स, एनसिडी मलेसिया, द एनसिडी एलायन्स एसोसिएसन अफ थाइल्यान्डबाट समेत सहभागीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।

मन्त्री शर्माले नसर्ने रोगहरू नेपालका लागि प्रमुख स्वास्थ्य चुनौती बनेको भन्दै नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको बताउनु भयो ।  नसर्ने रोगमा हुने खर्च नेपालको अर्थतन्त्र र मानव संसाधनमाथिको ठुलो प्रहार हो भन्दै उहाँले उपचारभन्दा रोकथामलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई ‘ओझेलमा परेको महामारी’ को संज्ञा दिँदै सरकारले हालै सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले युवा र किशोरकिशोरीहरूका लागि लक्षित क्लिनिक’ को सफलता उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवाहरू स्थानीय तहसम्म विस्तार गरिने बताउनु भयो । उहाँले  नसर्ने रोगको जोखिम कम गर्न सरकारले तयार पारेको पञ्चवर्षीय रणनीतिक दस्तावेज मल्टि सेक्टरल एक्सन प्लान २०२६ ३० को प्रसंग निकाल्दै यसले आगामी पाँच वर्षका लागि नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा हुने प्रगति मापन गर्ने बताउनु भयो ।


काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मानसिक स्वास्थ्य सुसुप्त महामारीको रूपमा अघि आइरहेको बताउनु भयो । उहाँले तीनै तहका सरकारले नसर्ने रोग नियन्त्रणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

उममेयर डङ्गोलले काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवामा उल्लेखनीय लगानी गर्दै आएको जानकारी दिँदै हालसम्म ३२ वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकिएको बताउनु भयो ।

उहाँले अस्पतालहरूसँग समन्वय गरी निःशुल्क प्राथमिक स्वास्थ्य सेवा विस्तार गरेको समेत जानकारी दिनु भयो ।

सेरो एनसिडी एलायन्सका अध्यक्ष प्राडा. अभिनव वैद्यले सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय उच्च स्तरीय बैठक २०२५ पछिको सन्दर्भमा नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि उत्तरदायित्व ढाँचालाई सुदृढ बनाउने विषयमा मुख्य छलफल भएको बताउनु भयो । उहाँले नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा गरिएको प्रतिबद्धताको कार्यान्वयनको अवस्था कस्तो छ ? यस क्षेत्रका देशहरूले यसलाई कसरी कार्यान्वयनमा लगिरहेका छन् भन्ने विषयमा अनुभव आदान प्रदान गर्ने मुख्य उदेश्य रहेको बताउनु भयो । 

नेपाल एनसिडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोगको प्रकोपलाई न्युनीकरण गर्न राष्ट्रिय स्तर, क्षेत्रीय स्तर र विश्वस्तरबाट हुनु पर्ने कामका बारेमा समन्वय, सहकार्य र थप आइडिया सेयरिङका लागि पनि यो सम्मेलन महत्त्वपूर्ण भएको बताउनु भयो ।

नेपालको सन्दर्भमा बहु–पक्षीय उत्तरदायित्व ढाँचा डा. मनिता प्याकुरेलद्वारा प्रस्तुत गर्नु भयो ।

सम्मेलनमा  ‘कि नोट स्पिच’ दिने क्रममा एनसिडी एलायन्स जेनेभाबाट सहभागी लिन्डा सेन्क मार्कोभाले नसर्ने रोग र मानसिक स्वास्थ्यका विषयमा संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय बैठक २०२५ पछिका सवाल र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

उहाँले राजनीतिक  प्रतिबद्धता कार्यान्वयनका लागि राष्ट्रिय , क्षेत्रीय र विश्व स्तरीय समन्वयको खाँचो रहेको बताउनु भयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालको प्रतिनिधि डा. लोनिम दीक्षितले नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारले अघि सारेको अवधारणा पत्रलाई कार्यान्वयन गर्न डब्लुएचओ सहयोगी बनेको बताउनु भयो ।

सम्मेलनमा नेपालको नसर्ने रोग र मानसिक स्वास्थ्यको अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बहुक्षेत्रीय समन्वय शाखाका प्रमुख डा. समिरकुमार अधिकारीले प्रस्तुति राख्नु भयो ।

यस्तै बङ्गलादेश नन कम्युनिकेवल डिजिजेज फोरमकी उमे फारिन सुल्तानाले युएन हाइलेभल मिटिङ पछि प्रगतिबारे प्रस्तुति दिनु भयो ।

हेल्दी इन्डिया एलायन्सकी राधिका श्रीवास्तवले स्वास्थ्य करमार्फत नसर्नेरोग विरुद्धको अभियानलाई सुदृढ पार्नका लागि वित्तीय र नियामक उपायहरूको बारेमा प्रस्तुति दिनु भएको थियो ।

इन्डोनेसिया एनसिडी एलायन्सकी नन्दा फुजियानाले भरच्युअल माध्यमबाट नसर्ने रोग र मानसिक स्वास्थ्यबारेमा जवाफदेहीतासँगै बहुक्षेत्रीय स्तरमा गरिएका काम बारेमा प्रस्तुति दिनु भयो ।

नसर्ने रोग र मानसिक स्वास्थ्य नियन्त्रणका लागि गरिएका प्रतिबद्धताको प्रगतिमा क्षेत्रीय तहबाट के कस्ता काम भएका छन् भन्ने विषयमा एनसिडी एलायन्स लङ्काका पुवुदु सुमनासेकरा, डा. अव्दुल मलिक माल्दिभ्स, डा. सुरेन्द्र सेरचन नेपालको समुहगत छलफल भएको थियो । 

नेपाल एनसिडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग र मानसिक स्वास्थ्यको विषयलाई राष्ट्रिय, क्षेत्रीय र विश्व स्तरबाट विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।