• २९ पुस २०८२, मङ्गलबार

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध

blog

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका ईमकुमार मल्ल । तस्बिर : गोरखापत्र

अमरराज नहर्की
तनहुँ, पुस २९ गते ।
तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इम कुमार मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । संघको ४० औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका क्रममा मल्लको मात्र एकल उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रका अनुसार अध्यक्ष पदमा अन्य कसैको दाबी नपरेपछि मल्ललाई निर्विरोध हुनुभएको हो । अध्यक्षमा सहमति जुटे पनि अन्य पदाधिकारी पदहरूमा भने प्रतिस्पर्धा देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि कुमार मल्ल र सुवोध अधिकारी चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै, प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सुरेश पुरी र दीपक कोइरालाबिच प्रतिस्पर्धा हुने भएको छ भने द्वितीय उपाध्यक्षका लागि प्रकाश चन्द हड्खले, राजकुमार श्रेष्ठ र भीमलाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदमा शिव ओम मल्ल, भुपाल आले मगर र महेशकुमार मल्लले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सदस्यहरू तर्फ लालप्रसाद प्रधान, रामचन्द्र सापकोटा र हरि गहतराजको उम्मेदवारी परेको सङ्घले जनाएको छ । बाँकी पदहरूको निर्वाचन प्रक्रियामार्फत टुङ्गो लगाइनेछ ।