• २९ पुस २०८२, मङ्गलबार

सूर्य अस्तसँगै बोराबाँधमा डल्फिनको दृश्यावलोकन

blog

बोराबाध क्षेत्रबाट सप्तकोसी नदीमा देखिएको सोँस (डल्फिन) । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 
वराहक्षेत्र, पुस २९ गते ।
नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस (डल्फिन) सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् । गत मङ्सिरबाट सूर्य अस्तको दृश्य अवलोकन गर्ने स्थानका रुपमा परिचित बनेको बोराबाँध क्षेत्रबाट सोँस देखिन थालेपछि आन्तरिक र बाह्य पर्यटकहरुको भिड बढ्न थालेको छ ।

गङ्गाको बाघ भनेर चिनेने सोँस (डल्फिन) धेरै वर्षपछि वरेजभन्दा २० किलोमिटर उत्तर सप्तकोसी नदीको बोराबाँध क्षेत्रमा देखिदै आएको डल्फिन संरक्षणमा काम गर्दै आउनुभएको लभ केसीले बताउनुभयो । उहाँका अनुसार जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस कोसी वरेजको दक्षिणी क्षेत्रदेखि वराहक्षेत्र मन्दिरको सप्तकोशी नदी क्षेत्रमा देखिएको इतिहास छ । धेरै वर्षदेखि नदेखिएको सोँस पछिल्लो एक महिनादेखि बोराबाँध क्षेत्रमा देखिन थालेको हो ।

सप्तकोशी नदीकिनार क्षेत्रबाट देखिने सूर्यास्तको दृश्य, बालुवाका कण र पानीमा पर्ने सूर्यका किरणका मनमोहक दृश्यसँगै पर्यटकहरु बोराबाँधमा सोँस हेर्न आउने गरेको स्थानीय चरा तथा वन्यजन्तु संरक्षणकर्मी विमल तिम्सिनाले बताउनुभयो ।

स्वच्छ बग्ने पानीको जलकुण्डमा मात्र पाइने सोँसको सङ्ख्या केहि वर्षदेखि घट्दै गइरहेको बताइएको छ । नेपालको कोशी, कर्णाली र नारायणी नदीमा मात्रै पाइने दुर्लभ गङ्गेटिक प्रजातिका सोँस (डल्फिन) को सङ्ख्या घटिरहेको केसीको भनाइ छ । डल्फिन मासिँदै गए जलिय पारिस्थितिक प्रणालिमा असर पुग्ने संरक्षणकर्मी लभ केसीले बताउनुभयो । नदीको प्राकृतिक संरचना नै बिग्रिँदै जाने र जलिय जैविक विविधतामा असर पुग्ने उहाँको भनाइ छ ।

हिन्दु धर्मको महाभारत ग्रन्थमा पनि सोँसलाई मत्स्यकन्या उलुपीको नामबाट वर्णन गर्दै यसको सिकार गर्न नहुने उल्लेख गरिएको छ । जलप्राणी सोँसलाई संरक्षण गर्न सबै सरोकार निकाय लाग्नुपर्ने संरक्षणकर्मी केसी बताउनुहुन्छ ।

दुई दशक अघिसम्म बराहक्षेत्र मन्दिरको पश्चिमपट्टिको कोशी नदीको भुमरी र कोशी ब्यारेज क्षेत्रमा सोँस सहजै देख्न सकिन्थ्यो । २०६५ सालमा कोशी फुटेपछि कोशी ब्यारेजभन्दा उत्तर नदी क्षेत्रमा सोँस कमै मात्रामा देखा पर्ने गरेको बताइएको छ ।