• २८ पुस २०८२, सोमबार

प्राविधिक समस्याले इसरोको अन्तरिक्ष मिसन अवरुद्ध

blog

नयाँ दिल्ली, पुस २८ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले सोमबार प्रक्षेपण गरेको रकेटमार्फत १६ वटा उपग्रह कक्षमा राख्ने मिसन असफल भएको छ । रकेटको तेस्रो चरणमा प्राविधिक गडबडी देखिएपछि उपग्रह निर्धारित कक्षमा पुग्न नसकेको इसरोले जनाएको छ ।

इसरोका अनुसार रकेटले तय गरिएको उडान मार्गबाट ठुलो विचलन देखाएको थियो, जसका कारण उपग्रह कक्षामा स्थापित गर्न सकिएन । ‘इन्डिया टुडे’ अनलाइनले इसरोका अध्यक्ष वी.नारायणनलाई उद्धृत गर्दै जनाए अनुसार मिसनमा प्राविधिक समस्या देखिएको हो । 

उहाँले भन्नु भयो, “सुरुका चरण सामान्य रहे पनि तेस्रो चरण (पिएस-३) मा कक्ष दाब अचानक घट्दा आवश्यक शक्ति प्रदान हुन सकेन । यसका कारण उडान मार्गमा ठुलो विचलन आयो र उपग्रह कक्षमा राख्न सकिएन ।” यसअघि इसरोले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा प्रकाशित गरेको सूचनामा भनेको थियो, “पिएसएलभी-सी ६२ मिसनको तेस्रो चरणको अन्त्यतिर प्राविधिक गडबडी देखिएको छ । यस विषयमा विस्तृत विश्लेषण सुरु गरिएको छ ।” रासस/सिन्ह्वा