निशा राई
धरान, पुस २८ गते । धरान उपमहानगरपालिकाको तत्कालीन धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च, पूर्व सञ्चार सहायकमन्त्री कृष्णकुमार राईको निधन भएको छ ।
संविधान सभा सदस्यसमेत रहनुभएका राईकोे ८० वर्षको उमेरमा काठमाडौंस्थित आफ्नै निवासमा आइतबार साँझ निधन भएको हो । उहाँ धरान नगर पञ्चायतको २०३५ सालदेखि २०४१ सालसम्म प्रधानपञ्च हुनुभएको थियो ।
२०४६ सालको परिवर्तनपछि नेकपा एमालेको राजनीतिमा सक्रिय भई पछिल्लो समय राई काठमाडाैंमा बस्दै आउनुभएको थियो । राई एमालेका पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य र त्यसअघि सुनसरी १ बाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
प्रधानपञ्च राईको निधनमा नगर प्रमुखस्तरीय निर्णयबाट आज धरान उपमहानगरपालिकामा शोक बिदा दिइएको प्रशासन महाशाखाका प्रमुख वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । आज उपमहानगर कार्यालय, मातहतको स्वास्थ्य कार्यालय (अत्यावश्यक बाहेक), वडा कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहेको उपमहानगरले जनाएको छ ।
