विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २८ गते । सप्तरीमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरुको घुइँचो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुइँचो लागेको हो ।
आइतबारसम्म तीन दिनमा दुई हजार छ सय ५६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । चार हजार दुईसय २२ जना निर्वाचन प्रहरी आवश्यक रहेको यस जिल्लामा आवेदन दिनेको उत्साहजनक सहभागिता भइरहेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रिया निर्वाचन प्रहरी पदमा १८ वर्ष पूरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको प्रहरी नायब पुरीले बताउनुभयो ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु. ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ । योसँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइनेछ ।