• २८ पुस २०८२, सोमबार

निर्वाचन सफल बनाउनु सबैको दायित्व हो : आयुक्त तुलाधर

blog

अभिमुखीकरणको डिजिटल माध्यमबाट उद्घाटन गर्दै निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, पुस २८ गते । पश्चिम नेपालका तीनवटा प्रदेशका विभिन्न जिल्लाको निर्वाचन अधिकृतहरुका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम सोमवारदेखि नेपालगन्जमा सुरु भएको छ । 

निर्वाचन आयोगको आयोजनामा सञ्चालन गरिएको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले विशिष्ट परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, भयरहित र सफल बनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले त्यसका लागि आयोग अहोरात्र खटेको बताउनुभयो । 

निर्वाचनलाई सफल बनाउन आयोगले गरेका विभिन्न तयारी र कार्यहरुबारे जानकारी गराउँदै उहाँले निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको बताउनुभयो । निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृत र निर्वाचन अधिकारीलाई निर्वाचनको विभिन्न पक्षहरुबारे जानकारी गराउनुका साथै सुझाव सल्लाह लिन यो अभिमुखीकरण गरिएको आयुक्त तुलाधरले प्रष्ट पार्नुभयो । 

सो अवसरमा अभिमुखीकरणको उद्देश्यबारे जानकारी गराउँदै नेपाल सरकारका सचिव पारासर ढुङ्गानाले निर्वाचनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न निर्वाचन अधिकृतलाई विभिन्न प्रकारका जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  

दुई दिनसम्म सञ्चालन हुने सो अभिमुखीकरणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरेर तीन वटै प्रदेशका ६६ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलगायतको सहभागिता छ । 

कार्यक्रममा सचिव ढुङ्गाना लगायत, सहसचिव सुभाषकुमार भट्टराई, वीरेन्द्रकुमार मिश्र र कोमलप्रसाद धमलाले प्रशिक्षण दिनुहुने निर्वाचन आयोगले जनाएको छ ।