• २८ पुस २०८२, सोमबार

पाल्हीनन्दन गाउँपालिकाद्वारा गाउँ-गाउँमा दाउरा वितरण

blog

गाउँ–गाउँमा आगो ताप्न दाउरा वितरण ।

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, पुस २८ गते । बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले स्थानीय बासिन्दाका लागि गाउँ–गाउँमा आगो ताप्न दाउरा वितरण  गरेको छ। जिल्ला वन पैदावार आपूर्ति समितिसँग दाउरा खरिद गरी गाउँपालिकाले वडा–वडामा जनप्रतिनिधिमार्फत वितरण गरेको हो।

जाडो बढेसँगै स्थानीयबाट आगो ताप्न दाउराको माग आएकाले गाउँपालिकाको दैवीप्रकोप उद्धार समितिको योजना अनुसार यो कार्य गरेको हो । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) का अनुसार दाउरा गाउँपालिका परिसरमा सङ्कलन गरिएको छ र सम्बन्धित वडा अध्यक्षहरूलाई सम्पर्क गरी आफ्नो क्षेत्रमा लैजान आग्रह गरिएको छ।

"हामीले वडा अध्यक्ष र जनप्रतिनिधिहरूलाई गाउँका चोक र बस्तीमा व्यवस्थित र सन्तुलित तरिकाले दाउरा वितरण  गरिसकेका छौँ," अध्यक्ष गुप्ताले भन्नुभयो, "यसबाट गाउँका बुढापाका, गरिब र विपन्न परिवारलाई जाडोमा ठूलो राहत पुग्नेछ ।"

दाउरासँगै अति विपन्न परिवार र ज्येष्ठ नागरिकका लागि न्यानो लुगा वितरणको तयारी पनि भइरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडले चोक–चोकमा आगो ताप्ने व्यवस्थासँगै व्यक्तिगत रूपमा ओढ्ने–लगाउने सामग्रीको पनि आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटीमार्फत कम्बललगायतका सामग्री वितरण गर्ने प्रक्रिया अघि बढेको छ।

गाउँपालिकाका लेखा अधिकृत सञ्जयकुमार शर्माले पालिकाले विकास निर्माणसँगै मानवीय राहतका कार्यलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। प्रकोपजन्य समस्या समाधानका लागि पालिकाले समय–समयमा दाउरा, कम्बल, लत्ताकपडा र आवश्यकता अनुसार त्रिपालसमेत वितरण गर्दै आएको उहाँले बताउनुभयो।

लगातारको शीतलहरले जनजीवन कष्टकर बनिरहेका बेला गाउँपालिकाको यो सक्रियताले स्थानीय बासिन्दा, विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुर र सीमान्तकृत समुदायलाई केही सहज हुने देखिएको छ।