अमृतप्रसाद पौडेल
म्याग्दी, पुस २८ गते । मोटरेबल पुल निर्माणको माग गर्दै दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबिच सहजीकरण थालिएको छ ।
मालिका गाउँपालिका वडा–५ र धवलागिरी गाउँपालिका वडा–७ को सिमानामा पर्ने दाङखोलामा निर्माण गर्ने भनिएको पुलको काम विगत ६ वर्षदेखि मोटरेबल पुल निर्माण कार्य अलपत्र थियो । उक्त पुल निर्माणको कार्य अलपत्र परेपछि जनप्रतिनिधिसहितको टोलीले आयोजनाको काम ठप्प पारेका थिए । आइतबार जलविद्युत् आयोजनाको कार्यालय दुखुबेसीमा आयोजित कार्यक्रममा जलविद्युत् आयोजना र मोटरेबल पुललाई बनाउन सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।
जलविद्युत आयोजनाको कारण मोटरेबल पुल अलपत्र परेको भन्दै आन्दोलनरत स्थानीयसँगै प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको कार्यक्रममा धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले दरवाङ-दाङखोला-धारापानी ताकम-मुना-लुलाङ-गुर्जा सडक अन्तर्गत मोटरेबल निर्माण नहुँदा गाउँपालिकावासीलाई सास्ती भएको बताउनुभएको थियो । उहाँले गाउँपालिकाको प्रवेशमै रहेको पुल अलपत्र पर्दा बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकाले समस्या समाधान गर्नेतर्फ तयार रहेको बताउनुभयो ।
मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकाभित्र निर्माणाधीन अवस्थामा रहेको जलविद्युत् आयोजनालाई सहज बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । विवादभन्दा पनि सहज बाटो खोजेर अगाडि बढ्नुपर्ने भएकाले सबैले मिलनको बिन्दु खोजेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष गर्बुजाले वास्तविक समस्याको पहिचान गरी नियमित काम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा धवलागिरी गाउँपालिकाकी पूर्व अध्यक्ष थमसरा पुनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर जनताको समस्या समाधानमा अब ढिला गर्न नहुने बताउनुभयो। मोटरेबल पुलको ठेक्का लिएको इन्द्रेणी–फेवा जेभी. पोखराले समेत कानुनी बाहना खोज्दै कामबाट पन्छिन नहुने बताउनुभयो । ‘अलपत्र पुललाई अगाडि बढाउन हामीले पनि निकै प्रयास गरेका थियौं, यहाँ ठेकेदारले पनि अनेक बाहना खोजेको देखिन्छ, मिलेर पुल बनाउनुहोस्,’ पुनमगरले भन्नुभयो ।
त्यस्तै मालिका गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद रोका मगरले पुलका कारण धवलागिरी क्षेत्रमा आफ्नो बारेमा गलत भ्रम फैलिएको बताउनुभयो । ‘पुल अलपत्रमा आयोजना, ठेकेदार र पूर्वाधार कार्यालयको समन्वयको अभाव देखिन्छ, धवलागिरीबासीलाई पुलबाट यात्रा गर्न वातावरण बनाउन प्रभावित क्षेत्रका बासिन्दाको पक्षमा छु’ रोकामगरले भन्नुभयो ।
धौलागिरि कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले आयोजनाले एक्लै पुल बनाउन सम्भव नभएको बताउँदै निर्माणकार्यमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘पुलका बारेमा आन्दोलनरत पक्षसँग बसेर समस्या समाधान र बास्तविकताका बारेमा जानकारी गराउन तयार छौं, हामीले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई सधै साथ दिन्छौ’ अध्यक्ष कुँवरले भन्नुभयो । आयोजनाको कारणले पुल बनाउन छोडेर ठेकेदार भागेको भन्ने तर्कमा सहमत हुन नसक्ने प्रष्ट आधारहरुसहित आन्दोलनरत पक्षसँग पुल निर्माणस्थलमै छलफलका लागि गाउँपालिकामार्फत सहजीकरण भइरहेको बताउनुभयो । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाको चपेटामा आयोजना परेकाले पुल बनाउन निर्माण व्यवसायी आएमा आफ्नो तर्फबाट सक्ने सहयाग गर्ने अध्यक्ष कुँवरको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबीच वि.स. २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार चार सय ५७ मा ठेक्का सम्झौता भएको थियो । पूर्वाधार कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँले ठेकेदारलाई पेश्की दिएको ३२ लाख धरौटीबाट फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएपछि ठेकेदारले उच्च अदालत पोखरा बागलुङ इजलासको रिटमा मध्यस्तताबाट विवाद समाधान गर्न आदेश दिएपछि हाल मुद्दा विचाराधीन छ ।
यो पुल कानुनी प्रक्रियामै अल्झिएमा अझै लामो समयसम्म नबन्ने निश्चित भएपछि छोटो प्रक्रियाबाट पुलको निर्माणकार्य अगाडि बढाउनुपर्नेमा सरोकारवाला पक्षले जोड गरेको छ ।