• २८ पुस २०८२, सोमबार

धुर्कोट राष्ट्रपति रनिङ्गशिल्डको उपाधि इन्दिराले जित्यो

blog

बिजेता विद्यालय इन्दिरा मावि । तस्बिर :टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस २८ गते।गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजना गरिएको आठौँ राष्ट्रपति रनिङशील प्रतियोगिताको उपाधि इन्दिरा माविले जितेको छ ।

 धुर्कोट गाउँपालिका वडा नं.४ जैसीथोकस्थित कालापखरा खेलमैदानमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा इन्दिरा माविले सात स्वर्ण, पाँच रजत र दुई काँस्य गरेर १४ पदकसहित प्रथम स्थान हासिल गरेको थियो । 

त्यस्तै पाँच स्वर्ण, पाँच काँस्य र पाँच रजत गरेर १५ पदकसहित हिमालय मावि द्वितीय भएको छ । पाँच स्वर्ण, तीन रजत र छ काँस्य गरेर १४ पदकसहित वाग्ला मावि तृतीय  भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिनुभयो ।

 प्रतियोगितामा पालिकाभित्रका ११ विद्यालयको सहभागिता थियो । उत्कृष्ट सबै विद्यालय र विद्यार्थीलाई गाउँपालिका प्रमुख भूपाल पोख्रेलले पुरस्कृत गर्दै अरु विद्यालाई थप सक्रियता र सफलताको शुभकामना दिनुभयो । 

उहाँले खेल स्वास्थ्य, अनुशासन र व्यावसायिक बन्न सके पहिचान तथा आर्थिक हिसाबले समेत फलदायी हुने बताउनुभयो ।प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फ विभिन्न दौड, लङ जम्प, हाई जम्प, सटपुट लगायतका खेलसँगै भलिबल र कबड्डी खेल सञ्चालन गरिएको थियो ।

पोख्रेलले गाउँपालिकाले आगामी दिनमा पनि विद्यालयस्तरीय खेलकुद कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।