• २८ पुस २०८२, सोमबार

मुस्ताङको क्षमा ताल जम्यो

blog

अत्याधिक चिसोका कारण जमेर बरफ भएको मुस्ताङको घरपझोङ गाउँपालिका–५,मा अवस्थित क्षमा ताल ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), पुस २८ गते ।अत्याधिक चिसोका कारण मुस्ताङको घरपझोङ गाउँपालिका–५,मा अवस्थित आर्कषक र नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित क्षमा ताल जमेर बरफ भएको छ ।

 समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाइमा निलगिरी हिमालको फेदीमा हिमाल जस्तै स्वच्छन्द निलो रङमा देखिने ताल अहिले जमेको तालमा चिसो मौसममा समेत मुस्ताङको भ्रमणमा जाने पर्यटक र कर्मचारीहरू पुगेर जमेको तालमा तस्बिर खिचाउन जान थालेका छन् । 

नेपाली सेनाको कैशाङ क्याम्प हुँदै पुग्न सकिन्छ तालमा ठिनी–कैशाङ सडकबाट करिब एक घण्टाको पैदलयात्रापछि सजिलै पुगिन्छ। 

तालमा सदरमुकाम जोमसोमबाट करिब डेढ घण्टाको सवारीसाधन र पैदलयात्रापछि पुगिन्छ । गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले तल्लो मुस्ताङ क्षेत्र घुमेर फर्किने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमालको काखमै रहेको क्षमा तालमा पुगेर दृष्यावलोकन गर्न सहज हुने गरी पूर्वाधार विस्तारसहित प्रचारप्रसार गरिएको बताउनुभयो ।


अध्यक्ष लालचन भन्नुहुन्छ,‘‘यो ताल क्षेत्रको धार्मिक महत्व पनि छ, धेरैलाई जानकारी नहुदाँ धार्मिक पर्यटक समेत पुग्न सकेका छैनन्।’’गर्मी सिजनमा निकै चञ्चल देखिने ताल जाडोयाममा मस्त निन्द्रामा भएको महसुस गर्न सकिने घुम्न गएका पर्यटक प्रकाश पौडेलले बताउनुभयो ।

 पौडेलले भन्नुभयो,‘‘ताल पूरै जमेको छ,हामीले तालको बिचमा पुगेर समेत तस्वीर लिने अवसर पायौँ ।’’घुम्न गएका पर्यटकहरू जमेको ताल देखेर दङ्ग पर्ने गरेका छन् । 

पाण्डवहरूको वनबास समाप्त हुन लागेको बेलामा यक्षले युधिष्ठिरलाई प्रश्न सोधेको ठाउँ समेत यही क्षमा ताल भएको धार्मिक किम्वदन्ती रहेको छ ।

 पाण्डवहरूको वनबासको १२ बर्ष समाप्त त्यसपछिको १ वर्षको अज्ञातवासको समयलाई यस तालसँग जोड्ने गरिन्छ। यस क्षेत्रमा रहेको नेपाली सेनाको क्याम्प राखेको स्थानमा तत्कालीन तिब्बती खम्पा विद्रोहीहरूको आश्रयस्थल समेत रहेको थियो। 

क्षमा ताललाई धार्मिक तथा सामाजिक महत्वको दृष्यले समेत हेर्ने गरिएकोमा अहिले पर्यटकहरूको आगमनले स्थानीयवासी समेत उत्साहित छन्।

 मुस्ताङको तल्लो र उपल्लो क्षेत्रमा साना  खोला, कुवा, खानेपानी धारा, सिँचाइ कुलोका साथै घरका ट्याङ्की बरफ बनेर जमेको छ ।