अर्जुन काफ्ले
स्याङ्जा, पुस २८ गते ।भीरकोटमा करेन्ट लागेर गम्भीर घाइते भएका मनि खनाललाई नगरपालिकाले उपचार खर्च दिने भएको छ ।
बुटबल पावर कम्पनी लिमिटेडको जोखिमपूर्ण सेवा प्रवाह र चरम लापरबाहीले गर्दा वडा नं -६ को चाप्टारीमा रूखको घाँस काट्ने क्रममा रूखमा करेन्ट प्रवाह भै करेन्ट लाग्दा ५६ वर्षीय खनाल पुस १२ गते गम्भीर घाइते हुनुभएको थियो ।
नगरपालिकाले खनाललाई ५० हजार उपचार खर्च दिने निर्णय गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
भीरकोट नगरपालिकाका सूचना अधिकारी एवं प्रशासन शाखा प्रमुख सिताराम खनालले १३४ औं कार्यपालिका बैठकले क्षतिपूर्तिका विषयमा निर्णय गरेको बताउनुभयो ।
दुर्घटनामा खनालको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । भीरकोट नगर अस्पतालमा प्राथमिक उपचार गरि उहाँलाई थप उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेज लगिएको थियो ।
खुट्टा आंशिक रूपमा जलेको हुँदा थप उपचारका लागि उहाँलाई किर्तिपुर अस्पताल,काठमाडौँ लगिएको र अस्पतालमा उपचार भैरहेको छ ।
सेवा प्रदायक बिपिसीले भने हालसम्म कुनै क्षतिपूर्ति दिएको छैन । दुर्घटना र क्षतिपूर्तिको विषयमा आँधीखोला जलविद्युत केन्द्र, गल्याङका प्रमुख डोल प्रसाद खरेललाई सम्पर्क गर्दा दुर्घटनाको विषयमा जानकार रहेपनि उपचार खर्च वा क्षतिपूर्ति दिने कानुनी व्यवस्था नै नभएको बताउनुभयो ।
उहाँले मानवीय हिसाबले भएपनि कम्पनीले क्षतिपूर्ति दिन सक्ने भन्दै उहाँले बिपिसिको मुख्यालयमा घटनाको विस्तृत विवरण सहित पत्राचार गरेको बताउनुभयो ।