सुलीकोट समाचारदाता
सुलीकोट, पुस २८ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत उहियामा अवस्थित निस्राङ छहोताल धार्मिक तथा पर्यटकीय रूपले निकै महìवपूर्ण आकर्षणको केन्द्र बन्न थालेको छ । उच्च हिमाली भेगको अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जनविश्वासको अदभूत सङ्गमका रूपमा पछिल्ला दिनमा विकसित हुन थालेको छ ।
उहियाका स्थानीय वीरकाजी गुरुङका अनुसार यो ताल जति प्राकृतिक रूपमा सुन्दर छ, त्यति नै धार्मिक आस्थाको केन्द्र पनि बन्दै गएको छ । उहाँका अनुसार निस्राङ छहोताललाई पवित्रस्थलका रूपमा लिइनुका साथै साँचो मनले यहाँ गरिएको प्राथना पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको हुँदा यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्या पनि वृद्धि भइरहेको छ ।
यही विश्वासका कारण प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा उहिया, बारपाक, लाप्राक, आरुघाट, चुमनुब्री गाउँपालिकाका तथा गोरखा सदरमुकामबाट तीर्थयात्री यस तालमा पूजाआराधान गर्न आउने चलन रहेको उहाँले बताउनुभयो । स्थानीय फुवा गुरुङले भन्नुभयो, तर पनि यो तालको यथेष्ट प्रचारप्रसार हुन सकिरहेको छैन ।
यस ताल पुग्ने पदमार्ग, सूचना वोर्ड, बास बस्ने ठाउँलगायतका आधारभूत पूर्वाधारको कमीले गर्दा पर्यटन विकास अपेक्षित रूपमा हुन नसकेको स्थानीयको गुनासो छ । स्थानीय वीरकाजी गुरुङले भन्नुभयो, “यो पवित्रस्थलको उचित संरक्षण, व्यवस्थापन, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सकियो भने यो क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनको एक महत्वपूर्ण केन्द्रका रूपमा विकास हुने र यहाँका पर्यटन विकास हुने प्रचुर सम्भावना देखिन्छ ।”
निस्राङ छहोताल केवल एक धार्मिक स्थल मात्र नभई गोरखा जिल्लाको पर्यटन पहिचान बन्न सक्ने क्षमता बोकेको गन्तव्य बन्न सक्ने भन्दै धार्चे गाउँपालिकाले केही विकासका योजना बनाएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, गाउँपालिका एक्लैले केही गर्न सक्दैन, यसको समग्र विकासका लागि प्रदेश सरकारले पनि दृष्टि दिनु जरुरी छ ।