रामकृष्ण बोहरा
बागलुङ, पुस २८ गते। आधारभूत अस्पतालमा आवश्यक जनशक्तिको अभाव हुँदा स्थानीय नागरिक सेवा लिन सदरमुकामका अस्पतालमा धाउनुपर्ने बाध्यता दोहोरिएको छ ।
करोडौँ लगानीमा निर्माण सम्पन्न भइ गतदेखि सेवाप्रवाह गरिएको काठेखोला गाउँपालिका–५ स्थित बिहुँकोट आधारभूत अस्पतालमा जनशक्तिको अभाव हुँदा सेवा प्रभावकारी हुन सकेको छैन ।
उक्त आधारभूत अस्पतालमा आवश्यक चिकित्सक,नर्स तथा अन्य स्वास्थ्यकर्मी नहुँदा बिरामीहरू उपचारका लागि धौलागिरि प्रादेशिक अस्पतालमा जान बाध्य छन् ।
अस्पतालमा बिरामी भर्ना गर्ने वार्डदेखि इमर्जेन्सी र परिवार नियोजनसहित प्रसुती सेवाका लागि पूर्वाधार भएपनि अहिलेसम्म भर्ना हुने गरी कोही बिरामी नआएको अस्पतालका अहेब दिपक अवस्थीको गुनासो छ ।
‘‘प्रसुती सेवाका लागि तालिमप्राप्त अनमी छन् तर गर्भ जाँचका लागि आएपनि सुत्केरी हुन महिला सदरमुकाम पुग्ने गर्छन्’’ अहेव दिपक अवस्थीले भन्नुभयो ।
अस्पतालमा दैनिक चार देखि पाँच जना मात्रै बिरामी आउने गर्छन् । पुस महिनामा अस्पतालबाट १२० जना मात्रै बिरामीले सेवा पाएका छन् । सेवा लिनेमा अधिकांश ज्वरो र रुघाखोकीका बिरामी हुन् ।
अस्पतालमा ल्याब सेवाका लागि सामाग्री अभाव हुँदा सेवाग्राहीले उपचार लिन नमानेको अवस्थीको भनाइ छ ।‘‘बिरामी आउँछन्, तर रगत, पिसाबलगायत परीक्षण गर्नुपर्ने भएपछि अन्यत्रै जान्छन्’’ उहाँले भन्नुभयो ।
ल्याब सेवा चुस्त बनाउन सकेमा वडाभरका सेवाग्राहीले उपचार गर्न पाउने अवस्थीले बताउनुभयो ।बिहुँको घोडाबाँधे, रिजालचोक, पोखरासहित इनार पानीका नागरिकहरू सदरमुकाम झर्ने गरेका छन् ।
अस्पताल अपायकमा पर्दा बिरामीको प्राथमिकतामा नगरेको स्थानीय बताउनुहुन्छ । मध्यपहाडी लोकमार्गदेखि भित्री खण्डमा परेकोले अस्पतालमा बिरामी थोरै जाने गरेका छन् ।
सामान्य समस्या भएपनि सिधै सदरमुकाम झर्ने प्रवृत्तिका कारण करोडौँको लगानीमा बनेको अस्पतालको भवन अलपत्र जस्तै बनेको छ ।
अस्पताल सडकको अपायकमा मात्र नभइ मौसमको लागि पनि अनुपयुक्त भएको स्थानीय सुवास कँडेल बताउनुहुन्छ । जग्गा प्रसस्त भएपनि सरसफाइको दृष्टिले प्रभावकारी सेवा प्रवाह नभएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले बताउनुभयो ।
‘‘सुई र मानव स्वास्थ्यका लागि अति हानिकारक उपकरण व्यवस्थापनमा बेवास्ता गरिएको भेटिएपछि खाल्डो खनेर पुर्ने वा जलाउन सुझाव दिएका छौँ’’ सापकोटाले भन्नुभयो ।
अस्पतालको ल्याबमा एकजना मात्रै असिस्टेन्ट रहनुभएको छ ।आधारभूत अस्पताललाई अस्पताल जस्तै बनाउन पहल भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेयले बताउनुहुन्छ । सडक पहुँच सहज नभएको र दरबन्दीसहित सेवा प्रवाह गर्न नसक्दा अस्पताललाई सोचेझै उपयोगमा ल्याउन नसकेको उहाँको भनाई छ ।