बबई समाचारदाता
बबई (बर्दिया), पुस २८ गते । बर्दिया राष्ट्रिय निकुञ्ज सहज तरिकाले बाघ देख्न सकिने ठाउँका रूपमा प्रख्यात मानिन्छ । निकुञ्जमा पाटेबाघसँगै विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, हात्ती र बाघको आहार प्रजाति चित्तल, हरिण र भालुलगायत वन्यजन्तुको वासस्थान मानिन्छ ।
निकुञ्जभित्र घुम्न जाने पर्यटकले बाघलाई सहज रूपमा देख्न सक्छन् भने निकुञ्जभित्र घुम्न नचाहने व्यक्तिका लागि निकुञ्ज कार्यालयपरिसरभित्र दुई वटा पाटेबाघ राखिएको छ । अहिले ती दुई वटै बाघ निकुञ्जसम्म पुग्न सक्ने जोकोहीले अवलोकन गर्न सक्छन् ।
निकुञ्जको कार्यालयपरिसरमा गोही प्रजनन केन्द्र, थारू सङ्ग्रहालय र हात्तीसार छन् । कार्यालयपरिसरमा भएका यी कुरा निकुञ्ज अवलोकन गर्न आउने विद्यार्थीका लागि आकर्षणका केन्द्र बनेका छन् । निकुञ्ज कार्यालयका अनुसार गत वर्ष दुई लाख ३९ हजार ८० विद्यार्थीले निकुञ्ज अवलोकन गरेका छन् । बर्दियामा बाघको आक्रमण बढ्दै जाँदा विद्यार्थीको आकर्षण पनि कार्यालयपरिसरमा राखिएका दुई वटा बाघ हुने गरेको छ ।
निकुञ्जभित्र प्रवेश गर्ने विद्यार्थीको सबैभन्दा पहिलो रोजाइ निकुञ्ज कार्यालयपरिसरमा राखिएको पाटेबाघ पर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसपछि विद्यार्थीको रोजाइमा गोही प्रजनन केन्द्रमा रहेका गोही हेर्ने र थारू सङ्ग्रहालयभित्र राखिएका थारू वेशभूषासहित थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्ने सामग्रीसमेत बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका विद्यार्थीले अवलोकन गर्ने गरेको निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो ।
निकुञ्ज घुम्न आएकी एसियन व्यवस्थापन कलेज धनगढीमा अध्ययनरत विद्यार्थी रेखा चन्दले निकुञ्जमा रहेका बाघ र गोही प्रजनन केन्द्र अवलोकन गर्ने अवसर पाउँदा खुसी लागेको बताउनुभयो ।
कतिपय विद्यालयले शैक्षिक अवलोकनका लागि विद्यार्थीलाई बर्सेनि बर्दिया राष्ट्रिय निकुञ्ज लैजाने गर्दछन् । शिक्षकशिक्षिकासँगै निकुञ्ज पुगेपछि विद्यार्थीलाई बाघ हेर्न हतार हुने गरेको देखिन्छ । बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय गुलरियाका शिक्षक हरि ज्ञवालीले विद्यार्थीलाई लिएर निकुञ्ज पुग्दा विद्यार्थीले सबैभन्दा पहिले पाटेबाघ देखाउन
अनुरोध गरेको बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जको मूल प्रवेशद्वारमा काम गर्दै आएका चोरीसिकारी नियन्त्रण युवा अभियानका सदस्य अनुराग चौधरीले यहाँ आउने विद्यार्थीले सबैभन्दा पहिला पाटेबाघ भएको स्थान सोध्ने गरेको बताउनुभयो ।