• २८ पुस २०८२, सोमबार

बाघ खोज्न क्यामरा जडान

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज (बाँके), पुस २८ गते । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघको खोजी तीव्र पारिएको छ । गत शनिबार गाई चराउन जङ्गल गएका सौरी निवासी ६२ वर्षीय मरीचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएपछि स्थानीयवासी त्रसित बनेका छन् । 

स्थानीयमा त्रास बढेपछि बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै थप जोखिमबाट स्थानीयलाई जोगाउन क्यामरामार्फत बाघको खोजीसँगै उक्त क्षेत्रमा अनुगमनसमेत बढाएको छ । 

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले घटनास्थलवरपर पाँच वटा सिसी क्यामरा जडान गरी बाघको खोजी र निगरानी निरन्तर भइरहेको जनाउँदै सो क्षेत्रमा हालसम्म बाघको उपस्थिति पुनः नदेखिएको बताउनुभयो । उहाँका अनुसार बाघ आक्रमणको घटनापछि पुनः त्यही क्षेत्रमा नफर्किएकाले आहारा खोज्दै अन्यत्र सरेको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै सौरी र आसपासका बस्तीमा वनक्षेत्रमा जाने विषयमा स्थानीयमा डर र सतर्कता बढेको छ ।

बाँके निकुञ्ज प्रशासनले निकुञ्जवरिपरि बसोबास गर्ने स्थानीयलाई समूहमा मात्र जङ्गल जान, साँझपख वनक्षेत्र नछिर्न र शङ्कास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन आग्रह गरेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार बाघले पहिल्यै गाई मारेको अवस्थामा भण्डारी नजिक पुगेका कारण आहारा जोगाउने क्रममा आक्रमण भएको सम्भावना बढी देखिन्छ । 

निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप निगरानी, जनचेतना र समन्वयात्मक उपाय अघि बढाइरहेको पनि जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा जोखिम क्षेत्र पहिचान गरी आवश्यक सतर्कता अपनाइने निकुञ्जको योजना छ ।

पछिल्ला केही समययता बर्दिया राष्ट्रिय निकुञ्जमा बाघलगायतका जङ्गली जनावरद्वारा निरन्तर स्थानीयवासीमाथि आक्रमणका घटना भएका छन् भने बाँकेमा पनि निकुञ्जवरिपरिका क्षेत्रमा विभिन्न घटना भएका छन् । दुवै निकुञ्जमा भएका ती घटनाका कारण स्थानीयमा डर त्राससँगै आक्रोश पनि बढ्दै गएको पाइएको छ ।