टीकापुर समाचारदाता
टीकापुर, पुस २८ गते । टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाको काम छिटो हुनुपर्नेमा विज्ञले जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो । त्यसका लागि चालु आवमा लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।
सहप्राध्यापक डा. केशरबहादुर कुँवरले दुई वटा कार्यदलले अध्ययन गरी सरकारले दुई वर्षअघिदेखि बजेट छुट्याउँदै आए पनि ऐन अभावमा काम अगाडि नबढेको बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य प्राडा जगतबहादुरसिंह रावल पनि सरकारले घोषणा गरेको र विधेयकको मसौदा बनाएको लामो समय भइसक्दा पनि प्रदेश सभामा पेस गर्न ढिलाइ हुनु दुःखद भएको बताउनुहुन्छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन डा. विष्णुविलास अधिकारी सुदूरपश्चिमका पुराना क्याम्पस विद्यार्थी अभावमा बन्द हुन लागेकाले सम्भावनायुक्त स्थानमा मात्रै विश्वविद्यालय खोल्नुपर्ने बताउनुहुन्छ । यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वप्राध्यापक डा. मोहदत्त शर्मा राजनीतिक दबाबमा खुलेका विश्वविद्यालय र क्यापसको प्रगति हुन नसकेकाले अबका विश्वविद्यालयले विषय नदोहोरिने गरी नयाँ शिराबाट कार्य अगाडि बढाउनुपर्ने सुझाव दिनुहुन्छ । शर्मा भन्नुहुन्छ, “हाम्रा विश्वविद्यालयले उत्पादन गरेका कृषिविज्ञ देशविदेशमा फैलिएका छन् तर सरकारी लगानी अभावमा कृषि उद्यमी बनाउन सकिएको छैन । अब खुल्ने विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति देशका लागि पनि काम लागोस् ।”
स्थापना भएको दुई वर्षसम्म पनि रेडबुकमा सीमित हुनु दुःखद भएको तथा प्रदेश र नगरपालिकाका जनप्रतिनिधिले चासो राखेर निरन्तर पहल हुनुपर्ने व्यवसायी नवराज रावलको भनाइ छ ।
२०७८ सालमा तत्कालीन पोखरा विश्वविद्यालयका प्राडा खेमराज जोशीको नेतृत्वमा र २०८० सालमा प्राध्यापक डा. जयराज अवस्थीको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरी सुदूरपश्चिम प्रदेशको टीकापुरमा विश्वविद्यालय खोल्न सुझाव दिएको थियो । कार्यदलको प्रतिवेदनले टीकापुर प्राविधिक विश्वविद्यालयका सबै विषय प्राविधिक मात्रै हुनुपर्ने सुझाव दिएको सदस्य डा. चक्रप्रसाद अधिकारी बताउनुहुन्छ ।
नागरिक तहमा विश्वविद्यालय छिटो स्थापना हुनुपर्ने माग भइरहँदा त्यसलाई सञ्चालन हुने ऐन अझै बन्न नसकेको गुनासो भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले कार्यव्यवस्था समितिको हालसम्मका बैठकमा टीकापुर विज्ञान प्रविधि विश्वविद्यालय विधेयकबारे कुनै निर्णय नभएको बताउनुभयो । टीकापुर विज्ञान प्रविधि विश्वविद्यालय ऐन आउन र स्थापनामा ढिलाइ भएको भन्दै प्राज्ञिक समाज टीकापुरले आइतबार टीकापुरमा अन्तर्क्रिया गराएको छ ।