बुलबुले समाचारदाता
सुर्खेत, पुस २८ गते । मातृ तथा शिशु मृत्युदर घटाउन सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ । जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताउनुभयो । यो वर्ष सेवा र सचेतनाका कार्यक्रम प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । स्थानीय तहले पनि ‘गर्भवती महिलासँग जनप्रतिनिधिसँग भेटघाट’ कार्यक्रम ल्याई प्राथमिकतामा राखेका छन् । मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न प्रदेश सरकारले करिब पाँच करोड बजेट विनियोजन गरेको छ । यो कार्यक्रम नयाँ भने होइन सरकारले बर्सेनि रूपमा कार्यान्वयन गर्दै आएको छ ।
कर्णालीका बालबालिका कुपोषणको सिकार बनेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ठुलो सङ्ख्यामा बालबालिका कुपोषण पीडित रहेको पाइएको हो । सर्वेक्षण अनुसार प्रदेशमा ५.३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ ।
नेपालभर २५ प्रतिशत बालबालिकामा उक्त समस्या देखिएकोमा कर्णाली अन्य प्रदेशकै तुलनामा समेत अग्रपङ्तिमा देखिएको हो । त्यस्तै नेपालभर आठ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ भने कर्णालीमा चार प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ । उक्त तथ्याङ्क अनुसार १५ देखि ४९ वर्षका १५ प्रतिशत महिलामा ख्याउटेपनाको समस्या देखिएको छ । प्रजनन उमेरका महिलामा शरीरको उचाइ अनुसारको तौल कम भएको पाइएको हो ।
राष्ट्रिय जनगणनाको तथ्याङ्कका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ । दीगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले काम गरिरहेको दाबी गरिरहेका छन् ।