• २८ पुस २०८२, सोमबार

कुखुरालाई एन्टिबायोटिक

blog

नेपाल अहिले कुखुराको मासु र अन्डामा आत्मनिर्भर छ । उपभोक्ताको माग अनुसार कुखुराको मासु बढी खपत हुन्छ । ब्रोइलर कुखुरा उत्पादनले मासु सस्तो र माग पूरा गर्न सम्भव भएको हो । कुखुराको मासुमा प्रोटिन, क्याल्सियम, एमिनो एसिड, भिटामिन बी ३, भिटामिन बी ६, म्याग्नेसियम र अन्य महत्वपूर्ण पोषक तìव पाइन्छ । यति हुँदाहुँदै पनि ब्रोइलर कुखुराको अप्राकृतिक उत्पादनले मानव स्वास्थ्यमा समस्या ल्याएको विभिन्न अध्ययनले देखाएको छ । लोकल कुखुराको तुलनामा ब्रोइलर कुखुराको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । ब्रोइलर कुखुरालाई रोगप्रतिरोधात्मक क्षमता बढाउन एन्टिबायोटिक दिइन्छ । कुखुरालाई दिइएको त्यो औषधीको असर मासुमा पनि रहन सक्छ । त्यस्तो मासु खाँदा केही न केही असर मानिसलाई गर्छ । ब्रोइलर कुखुराको मासुलाई राम्ररी स्टोर गरिएन वा राम्ररी पकाएर खाइएन भने मासुमा भएको एन्टिबायोटिकले मानिसलाई असर गर्ने पशु चिकित्सक बताउँछन् । कुखुरालाई रोग लाग्दा एन्टिबायोटिक दिनु पर्छ । केही दिनमै यसको असर क्रमशः कम हुँदै जान्छ । एन्टिबायोटिक दिनेबित्तिकै ब्रोइलर कुखुरा बजार लैजानु हुँदैन । एन्टिबायोटिक दिएर निको भएपछि मात्र मासुका लागि ब्रोइलर कुखुरा प्रयोग गर्नु पर्छ । यसो गर्दा मानव शरीरमा नकारात्मक प्रभाव पर्ने सम्भावना कम हुन्छ । एन्टिबायोटिक चलाएर तुरुन्तै ब्रोइलर कुखुरा बजारमा बिक्री गरियो र त्यो कुखुराको मासु खाँदा मानिसलाई असर गर्छ । यसमा सबै सचेत हुनु पर्छ । 

नियमित रूपमा एन्टिबायोटिक औषधीयुक्त कुखुराको मासु खाँदा शरीरले बिस्तारै एन्टिबायोटिक्सविरुद्धको प्रतिरोधक क्षमता विकास गर्ने सम्भावना हुन्छ । औषधी खुवाइएका कुखुराको मासु खानाले मानिसको शरीर त्यस एन्टिबायोटिक प्रतिरोधी बन्न जान्छ । त्यसपछि रोग लागेको बेला उक्त एन्टिबायोटिक औषधी खाँदा त्यसले काम नगर्ने समस्या पैदा हुन सक्छ । एन्टिबायोटिक प्रयोग भएको मासु खाँदा मोटोपनको समस्या बढी देखिनुका साथै ग्रोथ हार्मोनले बालबालिकालाई हलक्क बढाउँछ । एन्टिबायोटिकको प्रकृति हेरेर ४८ देखि ७२ घण्टासम्म त्यसको प्रभाव मासुमा रहन्छ । त्यसैले एन्टिबायोटिक दिएको ४८ देखि ७२ घण्टापछि मात्र कुखुरा बिक्रीका लागि बजारमा पठाउनु पर्छ । यस कुरामा व्यवसायीलाई सचेत मात्र होइन, सतर्क गराउनु पर्छ । मानव स्वास्थ्यभन्दा ठुलो अरू हुन सक्दैन । सर्लाहीका कुखुरापालक व्यवसायी विदुर सुवेदी कुखुरालाई एन्टिबायोटिकको प्रयोग गरेर तौल बढाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ । उहाँ जस्ता हजारौँ व्यवसायी कसरी कम समयमा कुखुराको तौल बढाउने र आम्दानी गर्ने भन्नेमा बढी तल्लीन रहेको पाइएको छ । चल्लालाई एन्टिबायोटिक दिएर ३५ दिनमै ठुलो बनाउने र बिक्री गर्ने ध्याउन्नमा व्यवसायी छन् । जति धेरै दिन कुखुरा पालेर राख्यो त्यति नै घाटा बेहोर्नुपर्ने कारण व्यवसायीले लामो समयसम्म कुखुरा पाल्न चाहँदैनन् । व्यवसायीलाई कुखुरामा कुन एन्टिबायोटिकको प्रयोग भएको छ भन्दा पनि कसरी कुखुरालाई कुनै रोग नलागी हुर्काएर बिव्रmी गर्ने भन्ने चिन्ता छ । अघिल्लो दिनसम्म एन्टिबायोटिक खुवाइएका कुखुरा भोलिपल्ट बजारमा ल्याएर बिव्रmी गर्ने गरिएको पनि पाइएको छ । 

कुखुरापालक व्यवसायी एन्टिबायोटिक प्रयोगले हुर्किएका कुखुरा ४० दिनमा बिक्री गरिसक्नुपर्ने भन्दै अन्यथा घाटा बेहोर्नुपर्ने बताउँछन् । पशु स्वास्थ्य विभागका महानिर्देशक डा. उमेश दाहालले कुखुरामा एन्टिबायोटिकको प्रयोग बढिरहेको स्विकार्नु हुन्छ । उहाँ त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार कुखुरामा एन्टिबायोटिकको प्रयोगले ती औषधीप्रति प्रतिरोधी क्षमता भएका ब्याक्टेरिया उत्पादन हुने र मानिसले त्यस्तो कुखुराको मासु उपभोग गर्दा प्रतिरोधी ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्छन् । महानिर्देशक डा. दाहालले एन्टिबायोटिकको उचित प्रयोग गर्नुपर्नेमा जोड दिनुहुन्छ । कुखुराको तौल वृद्धि एन्टिबायोटिक प्रयोगका कारणले मात्र नभई प्रजनन सुधार र पोषण व्यवस्थापनका कारणले पनि हुने गर्छ । कुखुराको उपचारका लागि आवश्यक मात्रामा एन्टिबायोटिक प्रयोग उचित हुने तर त्यसको दुरुपयोग गर्नै हुँदैन । पशु स्वास्थ्य विभागले समय समयमा मासुको परीक्षण गर्दै जनचेतना अभिवृद्धि र एन्टिबायोटिकका विकल्प प्रवर्धनमा भूमिका निर्वाह गर्दै आएको छ । अन्डा र मासुमा कम्तीमा उत्पादन मिति र उत्पादन स्थल खुल्ने गरी लेबलिङ अनिवार्य गर्नुपर्ने, मासु प्रयोगको गलत अभ्यास गर्नेलाई कडाइका साथ रोक्नु पर्छ । उपत्यकाका तीन जिल्लामा गरिएको एक अध्ययनमा ३० वटा पोल्ट्री फार्ममध्ये ९० प्रतिशतमा एन्टिबायोटिक प्रयोग भइरहेको पाइएको छ । अध्ययनका क्रममा प्रतिबन्धित एन्टिबायोटिकसमेतको प्रयोग, व्यवसायीलाई कुन रोगका लागि औषधी प्रयोग गरिएको हो भन्नेसमेत जानकारी नहुनु र त्यसको तथ्याङ्कसमेत राखिएको देखिएन । त्यसैले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी कुखुरामा एन्टिबायोटिकको उचित प्रयोगमा ध्यान दिनु जरुरी छ ।