• २८ पुस २०८२, सोमबार

‘हाम्रो पाइला समृद्ध ललितकलातर्फ’

blog

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ कलाकार हुनुहुन्छ । साधना कार्टुनचित्र भए पनि उहाँ लेखन, अध्यापन र कलामा उत्तिकै सक्रिय देखिनुहुन्छ । उहाँले विभिन्न प्रकाशन तथा व्यक्तित्वद्वारा प्रकाशित एवं लिखित सयौँ पुस्तकमा दृष्टान्तचित्र, व्यङ्ग्यचित्र तथा आवरणचित्र बनाउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गरेका कामको सेरोफेरोमा केन्द्रित भएर सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी :

 तपाईं कार्यकालको उत्तरार्धमा हुनुहुन्छ, आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

हामीले संविधान, ऐन–कानुनले निर्दिष्ट गरेका ललितकलाका विविध आयामलाई समेटेर देशैभरि माहोल सिर्जना गर्ने गरी गतिविधि अगाडि बढाएका छौँ । नेपाली ललितकलालाई स्थानीय, प्रदेश, केन्द्र हुँदै विश्वमा चिनाउने गरी जग बसाल्ने कोसिस पनि गरिरहेका छौँ । ससर्ती हेर्दा हामीले नेपाली ललितकलाको महत्व र यसको आयामलाई जनस्तरसम्म पु¥याउने र यसको प्राज्ञिक कर्मलाई अगाडि बढाउने गरी काम गरिरहेका छौँ । हामीले अझै थुप्रै काम गर्नुपर्ने छ । तिनलाई रणनीतिक योजनासहित क्रमिक रूपमा अगाडि बढाइरहेका छौँ । समग्रमा हामीले ललितकलालाई समृद्ध बनाउने गरी पाइला चालेका छौँ । यी कार्यले नेपालको ललितकलाको बहुआयामिक पक्षलाई सभ्यता र संस्कृतिका रूपमा भविष्यका लागि मार्ग तय गर्ने आशा पनि लिएका छौँ ।

 एउटा सिर्जनशील कलाकारका लागि प्रशासनिक पद अवसर साबित भयो कि अवरोध ?

हामीले यसलाई अवसरका रूपमा लिनु पर्छ । राज्यले दिएको जिम्मेवारीलाई अवसरमा बदल्दै नेपाली ललितकलाको महत्वलाई प्रशासनिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक/प्राज्ञिक ढङ्गले अगाडि बढाउने गरी काम भइरहेको छ । हामीले चुनौतीलाई अवसरका रूपमा लिँदै यस क्षेत्रमा गर्नुपर्ने कार्यलाई रणनीतिक तथा योजनाबद्ध ढङ्गले अगाडि बढाएका छौँ ।

 तपाईंको कार्यकालका यस्ता तीन काम, जसले ललितकला क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने छन् ?

प्रादेशिक प्रदर्शनी, स्थानीय तहसम्म ललितकलाको महत्वलाई उजागर, राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका गोष्ठी, प्रदर्शनी, कार्यशाला तथा सम्मेलन, अनुसन्धानमूलक पत्रिका प्रकाशन, कला र कलाकार सर्वेक्षण, नेपालका मौलिक रैथाने कलालाई क्रमिक रूपमा पहिचान दिलाउनेलगायतका दर्जनौँ काम गरेका छौँ । यसले नेपाली ललितकलाको जर्गेनासँगै रोजगारीको सिर्जना र अथर्तन्त्रमा दीर्घकालीन रूपमा प्रभाव पार्ने छ भने नेपाली सभ्यता र संस्कृतिको विकासमा समेत महत्वपूर्ण योगदान दिने विश्वास पनि लिएका छौँ ।

प्रतिष्ठानले कलाकारको आवाज सुन्दैन भन्ने आरोप छ, संस्था र कलाकारबिचको बर्सौदेखिको दुरी किन मेटिएन ?

यसमा सत्यता छैन । हामीले संस्थागत तथा व्यक्तिगत रूपले कला र कलाकारको हितमा काम गरिरहेको जगजाहेरै छ । यहाँहरू सबैलाई थाहा छ, हामी सदैव कलाकारसँगै छौँ । कलाक्षेत्रकै विकास, संरक्षण, प्रवर्धन, खोज अनुसन्धानलगायतका कार्य गरिरहेका छौँ । झन् हामीले त कला र कलाकारलाई समाजका विभिन्न क्षेत्रसँग जोड्ने कोसिस गरिरहेका छौँ । हामीले सकेसम्म कलाकारसँगै रहेर आवाजलाई सम्बोधन गर्ने काम गरिरहेका छौँ ।

 पछिल्लो समय अलिकति विवादित पनि हुनुभयो, कलाकारले राखेका माग सम्बोधन हुन्छ ?

के विषयमा विवादित भयौँ ? हामीले गर्दै नगरेका विषयको जिम्मा लिने कुरा भएन । हामीले प्रचलित नियम कानुनमा रहेर काम गरिरहेका छौँ । प्रतिष्ठानले प्रचलित ऐनले तोकेको क्षेत्राधिकारभित्र रहेर काम गरेको छ । साथै प्रतिष्ठानले गर्न सक्ने कुरा त विगतदेखि गर्दै आइरहेको छ । कतिपय काममा कलाकारलाई सहजीकरणसमेत गरेका छौँ । ललितकला क्षेत्रमा रहेका केही कानुनी समस्या हल गर्नका निमित्त बरु हामीले सम्बन्धित निकायमा पहलसमेत गरिरहेका छौँ । साथै ललितकला क्षेत्रसँग सम्बन्धित समस्या के के छन्, तिनको पहिचानका निम्तिसमेत कलाकारसँग छलफल गर्दै तिनलाई सम्बन्धित निकायलाई लैजाने प्रयत्न गरिरहेका छौँ ।

 प्रतिष्ठानको पुरस्कार वितरणमा राजनीतिक र व्यक्तिगत पहुँच हाबी हुन्छ भनिन्छ, यसलाई चिर्न प्रतिष्ठानले के ग¥यो ?

प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीको पुरस्कार कार्यविधि अनुसार नै प्रदान हुन्छ । यी प्रदर्शनी प्रतियोगितात्मक भएकाले प्रतिष्ठानभन्दा बाहिरबाट कलाकार तथा विज्ञको स्वतन्त्र मूल्याङ्कन समितिले पुरस्कार छनोट त्यो पनि मेरिट सिस्टममार्फत गर्ने हुँदा यसमा व्यक्तिगत तथा राजनीतिक प्रभाव हुने कुरै भएन नि ! साथै कतिपय पुरस्कार तथा सम्मान योगदानमा आधारित हुने भएकाले विधिले तोके अनुसार प्रदान गरिँदै आएको छ ।