• २८ पुस २०८२, सोमबार

सविनाको अन्तर्मनको प्रस्फुटन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८ गते । पेसागत रूपमा आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ फुर्सदको समय सिर्जना कर्ममा खर्च गर्दै आउनुभएको छ । चिकित्सा शिक्षा अध्यापनमा समेत व्यस्त प्राडा श्रेष्ठ कविता, कथा लेखन, गायन र अभिनय सँगसँगै केही वर्षदेखि चित्रकलामा अन्तरनिहित भावना पोख्दै आउनुभएको छ । उहाँको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘अन्तर्मनको प्रस्फुटन’ नेपाल आर्ट काउन्सिल बबरमहलमा भइरहेको छ । उहाँको पहिलो प्रदर्शनी २०७८ सालमा भएको थियो ।

सो प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार हरिप्रसाद रिमालले शनिबार गर्नुभएको हो । कलाकार सविनाका चित्रमा मानवीय संवेदना, समसामयिक राजनीतिक वस्तुस्थिति, प्रकृति, प्रेम, करुणा र सौन्दर्यप्रतिको आशक्ति र बालमनोविज्ञानसमेत झल्किएको पाइन्छ । प्रदर्शनीमा पछिल्ला चार वर्षमा एक्रेलिक रङ्ग माध्यममा सिर्जना गरिएका १२५ चित्रकृति राखिएका छन् । कलाकार सविनाले अमूर्ततातिर अघि बढ्ने सङ्केत चित्रमा गरेको पाइन्छ । 

साहित्य लेखनमा पनि सक्रिय श्रेष्ठका तीन वटा कवितासङ्ग्रह, जीवनीमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा’ र १०२ जना कैदीका अन्तर्वार्ता आधारित पुस्तक ‘अकथ्यको प्रतिध्वनि’ सार्वजनिक छन् । प्रदर्शनीमा बिक्री भएका कलाबाट सङ्कलित रकम ‘प्रोफेसनल सपोर्ट सर्भिस नेपाल’ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिने जनाइएको छ । प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।