• २८ पुस २०८२, सोमबार

किसानले पाएनन् तरुलको उचित मूल्य

blog

सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित बागमती फाँटमा तरुल खन्दै किसान । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, पुस २८ गते । सर्लाहीका तरुल उत्पादक किसानले यस वर्ष तरुलको उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यावसायिक तरुल खेती हुने जिल्लाको बागमती र बरहथवा नगरपालिकामा अब माघेसङक्रान्तिका लागि तरुल खनेर लगभग सकिन लागेको छ तर व्यापारीले मूल्य नदिँदा सस्तैमा बेच्नु परेको गुनासो किसानले गरेका हुन् । 

बागमती नगरपालिका–४, जिरायतका किसान नरेश महतोले सर्लाहीका किसानले तरुल लगेर बेच्ने काठमाडौँ कालीमाटीमा यस वर्ष व्यापारीले तरुलको भाउ नै नलगाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ मजदुरले खनेको खर्च, ढुवानीलगायत सबै बेहोरेर लाँदा मुस्किलले ५०/६० रुपियाँ किलोमा बिक्री भइरहेको छ ।” 

मजदुरलाई तरुल खन्दा प्रतिकिलो आठ रुपियाँ दिनु पर्छ । गएको वर्ष प्रतिकिलो कम्तीमा ८० रुपियाँसम्म प्राप्त गरे पनि यस वर्ष तरुल झनै सस्तो हुँदा मार परेको किसानले गुनासो गरेका छन् । जिरायतकै अर्का किसान विशाल बम्जनले अघिल्लो वर्ष ९० हजार रुपियाँमा बेच्ने गरेको पाँच कट्ठाको तरुल यस वर्ष ७० हजार रुपियाँमा बेचेको बताउनुभयो । “तरुल त जमिनमुनि हुने भएकाले बोट हेरेर व्यापारीले किन्ने गर्छन्,” वाइबाले भन्नुभयो, “यस वर्ष व्यापारीले मूल्य नै लगाएनन्, बल्ल बल्ल पाँच कट्ठाको तरुल ७० हजार रुपियाँमा बेचेँ ।” 

व्यापारीले यहाँदेखि काठमाडौँ पु¥याएको तरुल गएको वर्ष प्रतिकेजी एक सय रुपियाँसम्म बिक्री हुने गरेकोमा यस वर्ष ६० रुपियाँभन्दा बढी मूल्य नपाएको गुनासो गरेका छन् । पछिल्ला वर्षमा देशका अन्य ठाउँबाट पनि तरुल काठमाडौँ पुग्न थालेको र उपभोक्ताले समेत कम खरिद गर्न थालेपछि मार परेको व्यापारीले बताएका छन् । 

सर्लाहीबाट काठमाडौँ लगिएको तरुल उपभोक्ताले भने खुद्रा बजारमा प्रतिकेजी १५० रुपियाँभन्दा बढीमा खरिद गरिरहेका छन् । सर्लाहीमै पनि उपभोक्ताले किन्दा तरुल एक सय रुपियाँभन्दा माथि नै छ । 

अन्य बाली, तरकारीमा जस्तै तरुलमा पनि किसानले मूल्य नपाउने तर बिचौलियाले प्रशस्त मूल्य लिने गरेका छन् । पछिल्ला वर्षमा मूल्य कम हुँदै गएको र उत्पादन गर्न दुःख पनि असाध्यै हुने भएकाले तरुल खेती गर्ने किसान जिल्लामा घट्दै जान थालेका छन् ।  तरुललाई माघेसङ्क्रान्तिमा फलाहारका रूपमा खाने गरिन्छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा ३०८ हेक्टरमा तरुल खेती भइरहेको छ ।