• २८ पुस २०८२, सोमबार

जसपा र लोसपा चार वर्षपछि एक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २८ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टीबिच एकता भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुर हुने गरी आइतबार १२ बुँदे समझदारी गर्दै एकता भएको हो । 

जसपाबाट २०७८ भदौमा फुटेर लोसपा गठन गरेका ठाकुरले चार वर्षपछि पुनः यादवसँग पार्टी एकता गर्नुभएको हो ।

जसपाका नेता प्रकाश अधिकारीले दुई पार्टी एकता भएपछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल र चुनाव चिह्न छाता राख्ने सम्झौता भएको जानकारी दिनुभयो । “हामी जेनजी आन्दोलनपछि रक्षात्मक भएपछि एकता गरेका होइनौँ । पहिलेदेखि नै सकेसम्म एकता, नभए मोर्चाबन्दी गरेर जाने गरी छलफल भइरहेको थियो । त्यही छलफलकै निरन्तरता स्वरूप एकता भयो,” उहाँले भन्नुभयो, “अब विचार मिल्ने पार्टीसँग एकता नभए मोर्चाबन्दी गरी सहकार्य गरेर जाने हुन सक्छ ।”

एकतापछि दुवै पार्टीबाट कुल केन्द्रीय समन्वय समिति ४३ जना र ११ सदस्यीय सचिवालय गठन गर्ने समझदारी भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीको सम्पूर्ण सङ्गठन परिचालन, निर्देशन निर्णायक केन्द्रीय समन्वय समिति हुने भएको छ । दुवै पार्टीका सबै तहका भ्रातृ सङ्गठन, शुभेच्छुक सङ्गठन, विभाग, संयन्त्रले जसपा नेपाल समन्वय समितिको निर्णयबमोजिम कार्य गर्ने भएका छन् । 

आगामी निर्वाचनमा उम्मेदवार मनोनयनपत्रमा समन्वय समितिबाट निर्णय भएपछि ठाकुर र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने समझदारी भएको छ ।