• २८ पुस २०८२, सोमबार

ऐतिहासिक गढी किल्ला संरक्षण अभियानमा नेपाली सेना

blog

किल्लामा नेपाली झण्डा फहराउँदै नेपाली सेना ।

सचिन पोख्रेल

इटहरी, पुस २७ गते । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर तथा मातहतका विभिन्न बाहिनी अड्डा तथा गणहरुले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

पूर्वी नेपालको कोशी प्रदेशमा रहेको ऐतिहासिक स्थल, गढी किल्ला संरक्षण एवम् सम्वर्धनलाई निरन्तरता दिँदै नेपाली पृतना हेडक्वाटर तथा मातहतका निकायले ऐतिहासिक पदयात्रा लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

सेनाले स्थानीय प्रशासन, सरोकारवाला तथा जनप्रतिनिधिहरुसँग समन्वय गरी विभिन्न गढी किल्ला पदयात्रा सास्कृतिक कार्यक्रम, राष्ट्रियता झल्काउने कविता वाचनजस्ता कार्यक्रम सञ्चालन गरेको छ । 

यस क्रममा सेनाले ऐतिहासिक विजयपुरगढी–सागुरीगढी–पाख्रीबास निशान पदयात्रा, महिला तथा पुरुषको विजयपुरगढी दौड प्रतियोगिता, ऐतिहासिक उदयपुरगढी–चौदण्डीगढी पदयात्रा र ईलाम जिल्लामा निशान पदमार्ग यात्रा लगायतका कार्यक्रम सम्पन्न गरेको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ । 

त्यस्तै, विभिन्न स्थानमा ईतिहाससम्बन्धी सास्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन एवम् सामुदायिक विद्यालयहरुमा कविता बाचन तथा चित्रकला आदि प्रतियोगिता सञ्चालन गरिएको छ ।

त्यसैगरी, ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृतना हेडक्वाटर अन्तर्गत बाहिनी तथा गण र गुल्मवाट २ हजार ३२९ जना सकलदर्जालाई सहभागी गराई ईतिहासविद प्राडा. अनिल पोखरेलद्वारा पृथ्वीनारायण शाहको जीवनी, दिव्योपदेश, नेपाल एकीकरण अभियान“ सम्बन्धमा पेशागत सम्बाद कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै, पूर्वी पृतनाअन्तर्गतका वाहिनी तथा गण र गुल्महरुले विभिन्न गढी–किल्लामा सरसफाई, मर्मत–सम्भारजस्ता कार्यसमेत गरेको छ । नेपाली सेनाका सकलदर्जाका अतिरिक्त स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि लगायतको सहभागितामा कार्यक्रम आयोजना गरिएको छ । 

पूर्वी पृतनाबाट आयोजना गरिएको पदयात्राहरुको आयोजनाबाट कोशी प्रदेशका बिभिन्न गढी तथा किल्लाहरुको सामरिक महत्व राष्ट्रियस्तरको फैलने तथा आफ्नो मौलिकता संरक्षण हुनुको साथै आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई आर्थिक वृद्धिमा टेवा पुग्ने नागरिक सैनिक विस्तार अभियानका अभियन्ता तथा इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिबस पोख्रेलको भनाइ छ । 

नेपाली सेनाले सञ्चालन गरिरहेको यस्ता सिर्जनशील कार्यक्रमहरुबाट स्थानीय स्तरको ईतिहास पुस्तान्तरण गर्न समेत अहम भूमिका खेल्नुको साथै युवापुस्तालाई राष्ट्रिय विकासमा अग्रसर गर्न सहयोग गर्ने विश्वास गरिएको छ । 

कार्यक्रममा पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले इतिहास संरक्षणमा लोगेको बताउनुभयो । उहाँले नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबास लगायतका स्थानमा पुग्न प्रयोग भएका मार्गलाई जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पदयात्रा गरिएको बताउनुभयो । 

किल्लामा राष्ट्रिय झण्डा

ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणकोे आयोजनामा उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँच दिवशीय दोश्रो संस्करणको पदयात्रा सम्पन्न भएको छ ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गणले पुस २३ गतेदेखि जिल्लाको ऐतिहासिक स्थल उदयपुरगढीबाट अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको करिव ८५ किलोमिटर लामो महाभारत पहाड क्षेत्रमा सञ्चालन गरेको पदयात्रा आइतवार चौदण्डीगढीस्थित पुरानो दरवार क्षेत्रको किल्लामा राष्ट्रिय झण्डा फहराउदै समापन गरेको हो । 

सो अवसरमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त वस्नेतले गढी र किल्लाहरु भनेको ढुङ्गा माटो र इटाका थुप्रोहरु नभएर हाम्रा पुर्खाहरुले राष्ट्रिय स्वाधिनता बचाउनका लागि गर्नुभएको त्याग र बलिदानको निशानी रहेको बताउनुभयो । 

कार्यक्रममा चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणका लागि गर्नुभएको त्यागलाई कसैले पनि भुल्न नहुने र नेपाली सेनाले त्यतिवेलाको गोरेटो पहिल्याउने अघिल्लो वर्ष थालनि गरेको यो कार्यले आगामि वर्षहरुमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो । 

यसैगरी रौतामाई गाउँपालिका र  उदयपुरगढी गाउँपालिकाका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, १८ नं वाहिनिका वाहिनीपति विमलकुमार वस्नेतले शुभकामना ब्यक्त गर्नुहुदै ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वर्धनका लागि जनचेतना जगाउने, पुर्खाहरुको गौरव गाथालाई खोज अनुसन्धान गरी प्राप्त उपलव्धीहरुलाई भावीपुस्ताका लागि लिपिबध्द गर्ने उद्देश्यले राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले यस किसिमको पदयात्राको आयोजना गरेर राम्रो काम गरेको बताउनुभयो ।