• २८ पुस २०८२, सोमबार

करातेकी सानुमाया सम्मानित

blog

काठमाडौँ, पुस २७ गते । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ । 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै चन्द्रागिरी नगरपालिकासागै देशको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएवापत १०औँ स्मृति दिवसका अवसरमा सानुमायालाई सम्मान गरिएको हो ।

विश्व कराते च्याम्पियनसिपमा छनोट हुँदै प्रतिस्पर्धा गरेकी काता खेलाडी सानुमायाले दक्षिण एसियाली कराते च्याम्पियनसिप, एसिया प्यासिफिक कराते च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुभएको छ । 

प्रतिष्ठानले विगतमा भलिबलका सलिना श्रेष्ठ, प्रतिभा माली र रेश्मा भण्डारी, बक्सिङकी ललिता महर्जन, करातेकी अन्जली महर्जनलगायतलाई सम्मान गरेको थियो ।

चन्द्रागिरी नगरपालिकाको तीनथानस्थित ब्राइट फ्युचर स्कुलमा आयोजित सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिला पत्रकार विष्णु पन्थी, कलाकार/अभियन्ता डा. सुन्जु भट्ट बस्नेत, जेष्ठ नागरिकद्वय नानी कार्की र साहिली कार्कीलाई पनि सम्मान गरिएको थियो । सम्मानित सबै चन्द्रागिरी नगरपालिकाका हुनुहुन्छ । 

उहाँहरुलाई नेपाल पत्रकार महासंघकी सभापति निर्मला शर्मा, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद केशव पोख्रेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्की, संरक्षक अम्बिका बुढाथोकीलगायतले जनही १५ हजार एक रुपियाँसहित दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गर्नुभयो । 

सोही अवसरमा संस्था सम्मानतर्फ सिर्जनशील अपाङ्ग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालयलाई एक लाख एक रुपियाँ प्रदान गरिएको थियो ।