• २८ पुस २०८२, सोमबार

कांग्रेसले नागरिकका असन्तुष्टि गम्भीरतापूर्वक आत्मसात् गर्छ : महामन्त्री शर्मा

blog

विशेष महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा।

काठमाडौँ, पुस २७ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा नागरिकका असन्तुष्टि बुँदागतरुपमा सङ्कलन गरेर गम्भीरतापूर्वक समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केबल सङ्गठनात्मक अभ्यास नभइ जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभएको हो। 

महामन्त्री शर्माले भन्नुभयो, “आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू, कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ। तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं।” 

उहाँले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट महाधिवेशन हेरिरहेका नागरिकलाई सम्बोधन गर्दै कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने स्पष्ट पार्नुभएको हो। नागरिकका गुनासा टिपोट एवम् पहिचान गरेर नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशनमा अघि बढ्ने उहाँको भनाइ छ।

उहाँले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्ट हुन नसकेको उल्लेख गर्नुभयो। सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन। प्रशासनिक कार्यालयमा सेवा लिन गएका सेवाग्राही कोठाबाट अर्को कोठा धाइरहनु पर्छ। भोलि–भोलि भनिँदा सीडीओ वा मन्त्रीलाई सञ्चो लाग्ला, सेवाग्राहीलाई लाग्दैन।”

कृषि क्षेत्रमा देखिएको समस्यातर्फ संकेत गर्दै शर्माले मल नपाएर खेतमै अल्मलिएका किसानले मन्त्रीको अनुहार सम्झेर खेती हुने मान्यता नस्वीकार्ने टिप्पणी गर्नुभयो। 

उहाँले यस्ता असन्तुष्टिका उदाहरणहरू धेरै रहेको र तिनलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा प्रस्तुत गरिने जानकारी दिनुभयो।