• २८ पुस २०८२, सोमबार

रसिलाद्वारा मेयर कप उपाधि रक्षा

blog

काठमाडौँ, पुस २७ गते । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले रक्षा गर्नुभएको छ । 

तीन पटककी विजेता महर्जनले चौथो उपाधि जित्ने क्रमममा आफ्नै क्लबकी शेस्ना सिरपालीलाई हराउनुभयो । पहिलो सेट २०–२२ ले पछाडी परेकी रसिला खेलमा फर्कदै दोश्रो र तेश्रो सेट २१–१५, २१–९ ले आफ्नो पक्षमा पार्दै जित हात पार्न सफल हुनुभएको हो । 

रसिलाले ५० हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । उपविजेता शेस्नाले २५ हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । तेस्रो स्थानमा आर्मीकी रिहाना सेरचन र भोजपुरकी नङ्गशल तामाङ्ग रहनुभयो । सेरचन र तामाङ्गले १० हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । 

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकलतर्फ आर्मीका प्रफुल महर्जनले पहिलो पटक उपाधिमा नाम लेखाउनुभयो । महर्जनले सप्तरीका विष्णु कटुवाललाई २१–९, २१–६ ले पराजित गर्नुभयो । विजेतादे ५० हजार र उपविजेताले २५ हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नुभयो । 

तेस्रो स्थानमा आर्मीका विधान अधिकारी र एपिएफका क्षितिज खनाल रहनुभयो । अधिकारी र खनालले १० हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नुभयो । बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको पुरुष युगलतर्फको प्रतिस्पर्धामा आर्मीका विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले जित हात पार्नुभयो । 

यु–१७ महिला एकलतर्फको खेलमा आर्मीकी रिहाना सेरचन विजयी हुनुभयो । यु–१७ पुरुष एकलतर्फ आर्मीका सदीप राई पहिलो हुनुभयो । मास्टर युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश क्लबका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी पहिलो हुनुभयो । विजेता खेलाडीहरुलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो । 

प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शीर्ष २० वरीयता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव २ सय २६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । चार लाख २५ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार पाँच सय रहेको छ । रासस