गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिले आज मैत्रीपूर्ण फुटसल तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतमा भएको कार्यक्रममा फोनिजकर्मीबिच परिचयात्मक कार्यक्रम र भाबी योजनाबारे छलफल गरेको छ ।
मैत्रीपूर्ण फुटसल कार्यक्रमअन्तर्गत फोनिज सङ्घीय समिति र उपत्यका समन्वय प्रदेश समितिबिच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा समन्वय प्रदेश समितिले फोनिज सङ्घीय समितिलाई ३–२ को अन्तरले विजयी प्राप्त गरेको छ । अनामनगरस्थित रोयल फुटसलमा भएको मैत्रीपूर्ण फुटसल कार्यक्रम फोनिजकर्मीबिचको सहकार्य, समन्वय र जिम्मेवारीका लागि आयोजना गरिएको समन्वय प्रदेश समिति अध्यक्ष मालीले बताउनु भयो ।
कार्यक्रममा फोनिजका सङ्घीय अध्यक्ष लक्की चौधरीले उपत्यका समन्वय प्रदेश समितिको कार्यक्रमको प्रसंशा गर्नु भयो । फोनिजकर्मीलाई एकजुट बनाइ राख्न र सङ्गठनको कामलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रमहरू नियमित भइराख्नु पर्ने उहाँले सुझाव दिनु भयो । उपत्यका समन्वय प्रदेश समितिको काँधमा ठुलो जिम्मेवारी रहेको भन्दै उहाँले समितिलाई टिम स्पिरिट अनुसार जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नु भयो ।

समन्वय प्रदेश समितिले पुस ३० गते फोनिज संवाद कार्यक्रम पनि आयोजना गर्दैछ । बागमती प्रदेशमा तामाङ र नेवा भाषालाई सरकारी कामकाजको भाषाका लागि भाषा आयोगले सिफारिस गरेपछि त्यसको कार्यान्वयनको अवस्था बारेमा बहस हुने आयोजकले जनाएको छ ।