• २८ पुस २०८२, सोमबार

देशको हितमा काम गर्नसक्ने सक्षम नेतृत्व चयन गरिनु पर्छः चतुरबहादुर चन्द

blog

नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्द ।

काठमाडौँ, पुस २७ गते। नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समय अनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नु पर्ने बताउनु भएको छ। 

काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समय अनुसार चल्नसक्ने नेतृत्व चयन गरिनु पर्ने बताउनु भएको हो। 

उहाँले विगत चार महिनामा कांग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भूमिका खेल्ने सबैलाई सम्मान गर्नु पर्ने बताउनु भयो। उहाँले मुलुकले ठुलो परिवर्तन खोजेको भए पनि अन्य दुई ठुला दल समयसापेक्ष रूपमा चल्न नसकेको पनि आरोप लगाउनु भयो। 

उहाँले भन्नुभयो, ‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो। कोमामा रहेको नेपाली कांग्रेसलाई वायु दिएर जसले पुनर्जीवित गर्ने प्रयास गर्नु भयो सबैलाई सम्मान गर्दछु। अब नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी बन्दैछ। इतिहासमा सधैं यो देशलाई अभिभाकत्व दिएको पार्टी विगत चार महिनामा पछारिएको थियो, लछारिएको थियो त्यसलाई लयमा फर्काउने अभियानका अभियन्ता महामन्त्रीद्वयलाई सम्मान गर्न चाहन्छु। देशले ठुलो परिवर्तन खोजेको छ। अन्य दुई ठुला दलहरूले परिवर्तनको आवाज दिन सकेन। समयसापेक्ष मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसले मात्र सक्छ भन्ने अठोट र विश्वासका साथ हामी यहाँ आएका छौँ।’

पार्टीभित्र आन्तरिक विवादका बिच काठमाडौँको भृकुटी मण्डपमा महाधिवेशन जारी छ।